बलियो र निर्णायक राष्ट्रिय शक्ति बन्नका लागि एमालेको वार्षिक कार्ययोजना पारित



काठमाडौं । नेकपा एमालेले सबै तहका अधिवेशनहरू आगामी मंसिरसम्म सक्ने गरी वार्षिक कार्ययोजना बनाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले वार्षिक कार्ययोजना पारित गरेको हो ।

कार्ययोजनाअनुसार जिल्ला अधिवेशनहरू आगामी कात्तिकभित्र गरिसक्नुपर्नेछ । महासचिव शंकर पोखरेलले वार्षिक कार्ययोजना पेस गरेका थिए । उनले सबै तहका अधिवेशनहरू मंसिरभित्र गरिसक्नुपर्ने गरी वार्षिक कार्ययोजना पेस गरेका थिए । सचिवालय बैठकले त्यसलाई पारित गरेको हो ।


यस्तै बैठकले पार्टीका हरेक सदस्यले वर्षमा एकपटक पार्टी स्कुलमा सहभागी हुनुपर्ने, अन्य पार्टीबाट आएका नेताहरूलाई तीन महिनाभित्र जिम्मेवारी दिनुपर्नेलगायतका विषयरू वार्षिक कार्ययोजनामा छन् ।

यस्तो छ १८ बुँदे कार्ययोजना

१. सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरण ।

२. नियमित अधिवेशन आयोजना र व्यवस्थापन (कात्तिकभित्र बाँकी जिल्ला कमिटी र मङ्सिरभित्र सबै कमिटीको अधिवेशन आयोजना गरिसक्ने)।

३. अरू पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनहरूमा पराजित भएका नेता कार्यकर्तालाई ३ महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने ।

४. कार्यकर्ताको कामको मूल्याङ्कन गर्ने विधि बसाल्ने ।

५. पार्टी कमिटी परिचालन र अन्तर्विरोध व्यवस्थापनको प्रणाली बसाउने ।

६. पार्टी स्कुल सञ्चालनलाई अभियानको रूपमा चलाउने । प्रत्येक वर्ष पार्टीका सबै सदस्य कुनै न कुनै स्कुलमा भाग लिनै पर्ने ।

७. सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने । जनप्रतिनिधिहरूको कामको मूल्याङ्कन गर्दै जनतामा आफूले गरेका कामको जानकारी गराउने ।

८. पार्टी कार्यालयहरूको प्रभावकारी व्यवस्थापन गर्ने । केन्द्रदेखि वडासम्मै कार्यालयहरू सञ्चालनको मोडालिटी बनाउने ।

९. पार्टी प्रचारको परम्परागत ढाँचामा सोसल मिडिया अनिवार्य जोड्ने । हरेक कमिटीले प्रचार व्यवस्थित गर्ने सन्दर्भमा सोसल मिडिया नेटवर्किङ गर्ने ।

१०. कामका नयाँ क्षेत्र पहिचान गर्ने र जिम्मेवारी नपाएकालाई ती नयाँ क्षेत्रमा परिचालन गर्ने ।

११. हरेक कमिटीले वार्षिक बजेट तयार पार्ने । त्यस अनुसार स्रोत परिचालन तथा आम्दानी र खर्चको व्यवस्थापन गर्ने ।

१२. पार्टी जीवनको शुद्धीकरण र सुदृढीकरणलाई अभियानका रूपमा लैजाने ।

१३. बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण तथा मिसन ८४ मा कसरी बहुमत प्राप्त गर्ने भन्ने योजनासहित सबै कमिटीले योजना बनाउने । नयाँ पुस्तामा पार्टी कामको विस्तार तथा जनसम्बन्ध विकासमा जनसङ्गठन परिचालन गर्ने ।

१४. प्रवासमा रहेका प्रवासीबिचको कामलाई देश हितको पक्षमा परिचालन गर्ने ।

१५. पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्ने ।

१६. नेकपा स्थापनाको ७५ वर्षको अवसरमा अघि सारिएका र सम्पन्न हुन बाँकी सबै काम सम्पन्न गर्ने ।

१७. पार्टीमा नियमित रिपोर्टिङ प्रणाली व्यवस्थित गर्ने ।

१८. पार्टीको आयोजनामा ४० वर्षमुनिका युवाको ‘यूथ समिट’ आयोजना गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here