बेनी अस्पतालमा औषधि अभाव



म्याग्दी । बेनी अस्पतालमा निःशुल्क रूपमा वितरण हुने औषधि अभाव भएको छ । सरकारले जिल्ला अस्पतालबाट ९६ प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीति लिए पनि बेनी अस्पतालको निःशुल्क औषधि वितरण कक्षमा २५ देखि ३० प्रकारका औषधि मात्र उपलब्ध छन् ।

निःशुल्क वितरण गर्ने औषधि बीमा सेवाबाट पनि नपाउने, अस्पतालको औषधि वितरण कक्षमा पनि नहुनाले समस्या भएको बेनपा–४ का रमेश क्षेत्रीले गुनासो गरेका छन् । बीमाबाट पाइने केही औषधि भदौ १ देखि सरकारले निःशुल्क वितरण गर्ने भने पनि अस्पतालमा नपठाएकाले दीर्घरोगका बिरामी धेरै प्रभावित भएको उनले बताए ।


अस्पतालको औषधि स्टोर शाखा प्रमुख तथा सूचना अधिकारी वरिष्ठ नर्सिङ अधिकृत खेम कुमारी पन्तले गण्डकी प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले समयमा औषधि नपठाएकाले अभाव भएको उनिले बताइन् । “सरकारले निःशुल्क वितरण गर्ने भनेका औषधि हामीले टेन्डर गरेर खरिद गर्न पाइँदैन । प्रदेश सरकारले समयमै औषधि नपठाउँदा समस्या भएको हो”, उनिले भनिन ।

प्रदेश सरकारसँग औषधि पठाउन माग गरे पनि सुनुवाइ नभएको बेनी अस्पतालका प्रमुख डा अञ्जु थापाले बताइन् । उनिले प्रदेश सरकारसँग चालु आर्थिक वर्षको सुरुआतमै औषधि माग गरिए हालसम्म प्राप्त हुन नसेको उनिले बताइन् । निःशुल्क उपलब्ध नहुँदा नियमित औषधि सेवन गर्नुपर्ने मानसिक, मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोगलगायत नसर्ने रोगका बिरामी बढी प्रभावित भएका डा थापाले बताइन् ।

मधुमेहका बिरामीलाई दिइने विभिन्न औषधिमध्ये पाँच सय एमजीको मेटफरमिनबाहेक अर्को औषधि छैन । मेटफरमिन पनि छ महिनाको अन्तरमा आउँछ । त्यस्तै उच्च रक्तचाप र कोलेस्ट्रोलका बिरामीले नियमित खानुपर्ने एट्रोभास्टिनको सबै मात्रा पछिल्लो नौ महिनादेखि अस्पतालमा उपलब्ध हुन सकेको छैन ।

बेनी अस्पतालमा म्याग्दीका साथै पर्वतको जलजला गाउँपालिकाका दैनिक दुई सय ५० जनाले सेवा लिने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here