वीर अस्पतालमा ‘जनयुद्ध’का घाइतेलाई भेटेलगत्तै बालुवाटार पुगेर प्रचण्डले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका घाइतेको जीवन निर्वाहका लागि पूरक बजेटको व्यवस्था गर्न माग गरेका छन् ।

मंगलबार विहान प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर अध्यक्ष प्रचण्डले घाइते÷अपाङ्ग योद्धाहरुको सन्दर्भमा ध्यानाकर्षण गराएको प्रचण्डको सचिवालयले जनाएको छ ।


वीर अस्पतालमा उपचाररत पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई भेटेर बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्रीसँगको छलफलमा पाँच वटा माग अघि सारेका छन् । उनले सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधिलाई संशोधन गर्न माग गरेका छन् ।

त्यस्तै सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरुलाई सूचीकृत गर्नुपर्ने, सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण दिनुपर्ने माग गरेका छन् ।

त्यस्तै अध्यक्ष प्रचण्डले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनलगायतका प्रगतिशील आन्दोलनमा सहिद भएकाहरुको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् । भेटमा प्रधानमन्त्री देउवाले घाइते तथा अपाङ्गको तत्काल सेवासुविधा बढाउने प्रतिबद्धता जनाएका छन् ।