उपसभामुखको राजीनामा माग



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद पदम गिरीले संसद्को मर्यादा र गरिमालाई कायम राख्न उपसभामुख इन्दिरा रानाले राजीनामा दिइ मार्गप्रशस्त गर्नुपर्ने विचार व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले संसद्को गरिमामय व्यक्ति उपसभामुखले लिने निर्णय र गरिने व्यवहार संसद्को गरिमासँग जोडिने बताए ।

“उपसभामुखले सम्मानित संसद्को मर्यादा र गरिमालाई कायम राख्नुभएन । संसद्मा विषय उठेको लामो समयसम्म पनि बेवास्ता गर्नुभएको छ”, उनले भने, “संसद्को गरिमालाई बचाउनका निम्ति राजीनामा दिएर मार्गप्रशस्त गर्न राम्रो हुन्छ । व्यक्तिप्रति कुनै आग्रह पूर्वाग्रह छैन । तर, संसद्को गरिमामय व्यक्ति उपसभामुखले लिने निर्णय र व्यवहार संसद्को गरिमासँग जोडिन्छ ।”


उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन संसद्भन्दा बाहिरका व्यक्तिका नाममा दूतावासलाई सिफारिस पत्रलेखेर संसद्को गरिमामाथि आचर पु¥याएको दाबी गरे ।

सांसद गिरीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ठूलो सङ्कटबाट गुज्रिको भन्दै यसलाई सुधार गर्न सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने खाँचो औँल्याए । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर खरिद गरिएका विमान सञ्चालन प्रभावकारी नहुँदा ऋणको ब्याज र किस्ता तिर्न कठिनाइ भइरहेको बताए ।

उनले भने, “निगमको वाइड बडी विमान विगत ८० दिनदेखि ‘सिचेक’का लागि इटालीमा रहेको र अर्को वाइड बडी विमान पनि इटालीमै रहेको भन्दै अन्तर्राष्ट्रिय उडान विस्तारको व्यावसायिक योजना नल्याउने जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाउन जरुरी छ ।”

एमाले सांसद सुहाङ नेम्वाङले कुनैपनि मतभिन्नतालाई सहमति र सहकार्यको माध्यमबाट मुलुकलाई समृद्धिको दिशामा आगाडि बढाइनुपर्ने खाँचो औंल्याए । नकारात्मकता र निराशाको भाष्य सिर्जना गरेर युवापुस्तालाई निरुत्साहित बनाउने काम भइरहेको भन्दै सरकार र प्रतिपक्षी दल मिलेर देश र जनताको आवश्यकता र चाहनालाई पूरा गर्न लाग्नुपर्ने बताए ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकारले विशेष ध्यान दिनुपर्ने खाँचो औंल्याए । संवेदनशील विषयमा नियामक निकायका पदाधिकारीलाई जवाफदेही बनाउन नसकिएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराए । उनले ‘सिचेक’का लागि इटाली रहेको नेपाल एयरलाइन्सको विमान चाँडो ल्याउन र उडानलाई प्रभावकारी बनाउन माग गरे ।

कांग्रेस सांसद प्रतीमा गौतमले काठमाडौँका विभिन्न स्थानका सडक भत्किएको, खाल्डो परेको र समयमै मर्मत हुन नसक्दा सर्वसाधरणलाई आवतजावतमा कठिनाई भइरहेको उल्लेख गर्दै सरोकारवालाको ध्यानाकर्षण गराइन् । देशका अन्य स्थानको सडक पनि मर्मत सम्भार गर्दै नजिकिएको चाडपर्वमा सुरक्षित र सहज यात्राको सुनिश्चित गर्न सरकार समक्ष माग गरिन् ।

नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले काठमाडौँ महानगरभित्र खोला किनारमा बस्ती निर्माणबारे हालैको सर्वोच्च अदालतको आदेशले खोला किनारका बासिन्दा प्रभावित हुने भन्दै फैसलाको पुनरावलोकन गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले राजनीतिक दल र सरकारले जनताको तमाम सरोकारका विषयमा ध्यान दिन जरुरी भएको उल्लेख गरे । उपसभामुख रानाको राजीनामा माग गरी अन्य विषय ओझेलमा पार्न खोजिएको उनको तर्क थियो ।

कर्णाली राजमार्ग कायम गरियोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले कर्णाली राजमार्गअन्तर्गतको सुर्खेतदेखि जुम्ला जोड्ने सडकको नाम मेटाउने काम भएको भन्दै यसलाई कर्णाली राजमार्गका रुपमा नामाकरण गर्न माग गरिन्।

दुई सय १० मिलोमिटरको कर्णाली राजमार्गको निर्माणलाई तीव्रता दिन माग गरिन् । उक्त राजमार्ग उद्घाटन गरेको १४ वर्ष पछि २०६३ चैत्र ३० गते जुम्लामा सडक पुग्यो । यो अवस्थामा पुग्न पनि यो राजमार्गले निकै चुनौतिको सामना गर्नु परेको उनको भनाइ छ ।

सांसद कठायतका अनुसार सडक विभागको आधिकारिक दस्तावेजमा २०६९ साल मङ्सिर १९ गतेसम्म पनि कर्णाली राजमार्ग भनेर सुर्खेत जुम्ला सडकलाई जनाइएको छ । यसैका आधारमा अहिले पनि नेपालका ठूला मिडियाले समेत यो सडक खण्डमा केही घटना घट्दा कर्णाली राजमार्ग भनेर समाचार प्रकाशित गर्ने गरेका छन् ।

तर अहिले यो राजमार्ग बेनामे सडकका रुपमा अलपत्र रहेको उल्लेख गर्दै सांसद कठायतले उक्त सडकले बजेट पनि नपाएको गुनासो गरिन् । बारम्बार पहिरो गइरहने उक्त सडक खण्डको समयमा मर्मत सम्भार पनि हुननसकेको उनको भनाइ छ ।