माओवादी केन्द्रको प्रदेशस्तरीय बैठक सकियो, ७० नेताले दिए सुझाव



उदयपुर । नेकपा माओवादी केन्द्रको एक नम्बर प्रदेशस्तरीय परामर्श बैठक सोमबार सकिएको छ । उदयपुरको बेलका नगरपालिकामा दुई दिनसम्म चलेको बैठकमा प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिएका छन् ।

पार्टी सुदृढीकरणका लागि केन्द्रबाट ठोस कार्यक्रम बनाएर संगठन विस्तार र जनपरिचालनमा तत्काल लाग्नुपर्ने प्रदेशस्तरीय नेताहरुले सुझाव दिएका हुन् ।
सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा समाजवादमा जाने गरी पार्टीले अघि सारेको कार्यदिशालाई अझै विस्तृतीकरण गर्दै स्पष्ट कार्यक्रमको ढाँचा अघि सार्नुपर्ने पनि नेताहरुको सुझाव थियो ।


बैठकलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय पदाधिकारीले पनि सम्बोधन गरेका थिए ।

पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । माओवादी केन्द्रले अहिलेसम्म एक नम्बर प्रदेशसहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।

अब मधेश प्रदेश, केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक बाँकी रहेको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here