प्रचण्डले देशलाई बंगलादेश र श्रीलंकाको बाटोमा लैजान खोजेको एमाले महासचिवको आरोप



कर्णाली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय मर्यादाविपरीत भ्रम छर्ने खालका अभिव्यक्ति दिइरहेको आरोप लगाएका छन् ।

बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै महासचिव पोखरेलले संसदीय राजनीतिको मूल्य र मान्यता विपरीत प्रचण्डले दिइरहेका अनावश्यक अभिव्यक्ति लोकतन्त्रको पक्षमा नरहेको बताए ।


सरकारबाट बाहिरिएपछि प्रचण्डले कांग्रेस–एमाले मिलेर संविधानमा रहेका कमीकमजोरीका विषयमा गर्न खोजेको समीक्षालाई आम जनतामा भ्रमको विषय बनाएको पोखरेलले बताए ।

उनले मुलुकमा दुई दलीय प्रणाली नभई राजनीतिक स्थायित्व र समृद्धिका लागि शक्तिशाली दुई दल आवश्यक रहेको बताए ।

महासचिव पोखरेलले अन्य दल नै खोल्न नपाइने गलत भाष्य प्रचण्डले प्रयोग गरिरहेको बताए । एमाले–कांग्रेसले अघि सारेको संविधान संशोधन प्रचण्डले भने जस्तो परिवर्तन उल्ट्याउन नभई व्यवस्थालाई बलियो र सुदृढ बनाउन रहेको उनले दाबी गरे । प्रचण्डले जिम्मेवार प्रतिपक्षीको भूमिकासमेत निर्वाह गर्न नसकेको पोखरेलले आरोप लगाए ।

पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले सत्ता नपाएको झोंकमा देशलाई बंगलादेश, श्रीलंका बनाइदिने भन्दै अभिव्यक्ति दिइरहेका प्रचण्डले नै समाजमा अराजकता फैलाउन खोजेको उनको भनाइ थियो ।