हिंसाको महिमामण्डन नगर्न एमालेको आह्वान



काठमाडौं । नेकपा (एमाले) को पोलिटब्यूरो बैठकले हिंसाको महिमामण्डन नगर्न आह्वान गरेको छ । पार्टीको पोलिटव्यूरो बैठकमा बार्षिक कार्ययोजनामाथि छलफल र विभिन्न समसामयिक प्रस्तावहरू पारित गरिएको छ । सो प्रस्तावमा हिंसाबारे पनि प्रस्ताव पारित गरिएको छ ।

प्रस्तावमा भनिएको छ,केही दिन अगाडि पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं ५ डाँडागाउँमा आइतराज केरुङको घरमा द्वन्द्वकालमा बेवारिसे छाडिएको बम विस्फोटको त्रासद घटनामा परी दुई जना बालबालिका दिप्सन साँवा वर्ष ११ र प्रिन्सा साँवा वर्ष २ को निधन भएको घटनाबाट पार्टी असाध्यै दुखित भएको छ । ज्यान गुमाउनुहुने दुबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो बैठक परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ र घाइते बालकहरू पवन राई वर्ष १३ र दिप्सन राईको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यस दुःखद घटनाले हिंसाको भयावहता र त्यसको असरले समाजलाई कति लामो समयसम्म आहत तुल्याइरहन्छ भन्ने स्पष्ट पारेको छ ।’


एमालेले मुलुक सशस्त्र द्वन्द्वको पीडादायी अतितलाई बिर्सेर दिगो शान्ति, मेलमिलाप र नयाँ भविष्यतिर अगाडि बढ्न लागिरहेको सन्दर्भमा हिंसाको महिमामण्डन गर्ने, त्यसको औचित्य पुष्टि गर्न खोज्ने र हिंसाका अवशेषहरूलाई कायमै राख्ने काम कतैबाट पनि नगर्न आह्वान गरेको छ ।