कान्द्रा नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा



गोदावरी । कैलालीको भजनी नगरपालिका–५ स्थित कान्द्रा नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको हुलाकी सडकमार्फत करिब रु १४ करोडको लागतमा यहाँ तटबन्ध निर्माण भइरहेको छ ।

हरेक बर्खायाममा नदीले खेतीयोग्य जमिन र बस्ती कटान गर्ने क्रम बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि तटबन्ध निर्माण भइरहेको हुलाकी सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर भक्तबहादुर कठायतले जानकारी दिए । उनकाअनुसार कान्द्रा नदीमा एक हजार ८५ मिटर तटबन्ध निर्माण अन्तिमचरणमा पुगेको हो । यहाँ एक किलोमिटर सडक कालोपत्र गर्ने योजनासमेत छ ।


विसं २०८० वैशाख १४ गते १८ महिनाभित्र सम्पन्न गर्ने गरी रु १३ लाख ७५ हजारमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले आगामी असोजभित्रै सम्पन्न गर्ने गरी तटबन्धको काम गरिरहेको सूचना अधिकारी कठायतले जानकारी दिए । उनले हालसम्म ९० प्रतिशत तटबन्ध निर्माणको काम सम्पन्न भइसकेको बताए ।

उक्त नदीले बर्खायाममा बर्सेनि सयौँ हेक्टर जमिन कटान गर्दै आएकामा तटबन्ध कार्यक्रमले नदी कटान तथा रोकथाम नियन्त्रणमा सहयोग पुगेको जनाइएको छ । नदी कटानकै जोखिमका कारण हुलाकी सडकअन्तर्गत धनगढी–टीकापुर खण्डमा पर्ने उक्त क्षेत्रको सडक स्तरोन्नतिको काम नभएकामा अब चाँडै सडक कालोपत्रे गरिने हुलाकी सडक आयोजना कार्यालयले जनाएको छ ।

तटबन्धसहितको सडक बन्ने भएपछि स्थानीयका घर र खेतबारी नदी कटानबाट जोगिएको भन्दै स्थानीय पनि खुसी भएका छन् । स्थानीय महेन्द्र रेग्मीले भने, “हरेक बर्खायाममा बाढीले भजनी नगरपालिका–५ लालबोझीस्थित हुलाकी सडकमा क्षति पुर्‍याउनुका साथै यहाँको खेतीयोग्य जमिन र बस्तीसमेत जोखिममा थियो । पक्की तटबन्ध बनेपछि निकै राहत भएको छ । अब पुरानो नियति भोग्नुपर्दैन भन्ने आशा जागेको छ”, उनले भने ।