यातायात व्यवस्था कार्यालयको सवारी दर्ता किताब र कार्यालयको छापसहित बिचौलिया पक्राउ



काठमाडौँ । यातायात व्यवस्था कार्यालय बागमतीको एकान्तकुनाको सवारीको दर्ता किताब र कार्यालयको छापसहित एक बिचौलिया पक्राउ परेका छन् ।

आइतबार महानगरीय प्रहरी परिसर ललितपुरले यातायात कार्यालयको दर्ता किताब र कार्यालयका छापसहित चितवनको भरतपुरका ३२ वर्षीय मनोज बाँस्तोलालाई शंखमुलबाट पक्राउ गरेको हो । २०७८ कार्तिक २८ मा बास्तोलाले बा.१२ च ४४९९ नम्बरको हुण्डाई कम्पनीको ग्राण्ड आईटेन कार कुसुन्तीस्थित यातायात कार्यालय अगाडिको होटलमा बसेर शेरसिंह थापालाई पास गरिदिएका थिए ।


तर, गाडीको ब्लु बुक दिए पनि उनले ब्लु बुकमा उल्लेखित गाडी नदिएपछि उनले ललितपुर प्रहरीमा उजुरी गरेका थिए । यही विषयमा अनुसन्धान गर्दै जाँदा बाँस्तोलासँग सरकारी कागजातहरु नै भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । उनका अनुसार उनीसँग बरामद दुई रजिष्टरमा ११०९ र १६९० नम्बर लेखिएको छ ।

दोस्रो रजिष्टरमा ४५४० देखि ४६७९ सम्म २६ च लेखिएको छ । प्रहरीका अनुसार बाँस्तोलाविरुद्ध ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरी छ । अब सरकारी लिखत कीर्तेमा पनि अनुसन्धान हुनेछ । बिचौलियालाई दर्ता किताब दिने यातायातका कर्मचारीबारे पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ । आरोपीविरुद्ध ठगी मुद्दामा जिल्ला अदालत ललितपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।