डेंगको संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु



चितवन। जिल्लामा डेंगीको संक्रमणबाट थप एकको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष रहेका छन्। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।

ज्वरो आएर उपचारका लागि आएका उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। शुक्रबार अस्पताल भर्ना भएका उनको मंगलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए। उनका अनुसार बिरामीमा कडा खालको डेंगी संक्रमण देखिएको थियो। शरीरका विभिन्न भागबाट रक्तश्राव भई अंगले काम गर्न छोडेर (मल्टि अर्गान फेलर) उनको मृत्यु भएको हो।


उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ। यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय वृद्धको डेंगीको संक्रमणका कारण मृत्यु भएको थियो।

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका तीन हजार तीन सय ३१ जनाको परीक्षण गर्दा सात सय ८८ जनामा डेंगीको संक्रमण देखिएको छ। संक्रमितमध्ये पाँच सय ८० जना चितवनका र बाँकी अन्य जिल्लाका छन्।