थाइल्याण्डमा सेना निकट दललाई बाहिरै राखी नयाँ मन्त्रीमण्डलको गठन



थाइल्याण्डका नयाँ प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले बुधबार आफ्नो मन्त्रिमण्डलको घोषणा गरेकी छन् । उनले सन् २०१९ पछि पहिलो पटक सेनासँग सम्बन्धित प्रभावशाली पार्टीलाई सरकारबाट हटाएकी छन् ।

थाइ नरेश महा वजिरालोङकोर्नले फेउ थाइ पार्टीका प्रधानमन्त्री पेतोङ्तार्नले पेश गरेका मन्त्रीमण्डलका सदस्यहरूको नयाँ टोलीलाई अनुमोदन गर्दै मन्त्रीमण्डललाई आधिकारिकता दिएका छन् । उनले अर्को हप्ता संसदमा आफ्नो ‘पोलिसी प्लेटफर्म’ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।


विवादास्पद अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३८ वर्षीया पेतोङतार्नलाई गत महिना थाइल्याण्डको सबैभन्दा कान्छो प्रधानमन्त्रीमा चयन गरिएको थियो ।

उनले यस पहिलेका धेरै शीर्ष मन्त्रीहरूलाई परिवर्तन गर्नुभएको छैन तर सत्तारूढ गठबन्धनबाट पूर्व सेना प्रमुख र सरकारविरूद्धको ‘कू’ को योजनाकार मानिने प्रवित वोङसुवानको नेतृत्वमा रहेको पलाङ प्रचारथ पार्टी (पीपीआरपी) लाई हटाइएको छ।

पीपीआरपीलाई सन् २०१९ को चुनावमा सैनिक अधिकारीहरूलाई नागरिक भेषमा सत्ताकायम राख्ने साधनको रूपमा स्थापित गरिएको थियो र उक्त दलले गत वर्षको चुनावसम्म सरकारको नेतृत्व गरेको थियो।

फेउ थाईले गत वर्षको अगष्टमा आफ्नो शासकीय गठबन्धनमा पीपीआरपी थप्दा केही समर्थकहरूमा आश्चर्य र त्रास पैदा भएको थियो।

सन् २०१४ मा फेउ थाईका अन्तिम प्रधानमन्त्री पेतोङ्तार्नकी फुपु यिङलक सिनावात्रालाई पदच्युत गरी पाँच वर्षको प्रत्यक्ष सैन्य शासनको मार्ग प्रशस्त गर्ने ‘कू’ योजनाकारका रूपमा प्रवितलाई पनि जिम्मेवार मानिन्छ। एक महिला पत्रकारलाई प्रश्न सोध्न खोज्दा थप्पड हानेको भिडियो सार्वजनिक भएपछि ७९ वर्षीय पवितमाथि अनुसन्धान भइरहेको छ ।

थाक्सिन र उनका सहयोगीहरूसँगको शत्रुताले २० वर्षभन्दा बढी समयदेखि थाई राजनीति अस्थिर बनाएको र वरिष्ठ सैन्य अधिकारीहरूसँग निकट सम्बन्ध रहेको पीपीआरपीलाई अँगाल्नुलाई धेरैले थाई राजनीतिलाई जुवाको रूपमा हेरेका थिए।

थाई राजनीतिक परिदृश्यमा लामो समयदेखि थाक्सिन र राज्यको परम्परावादी सेना समर्थक दल र राजावादी वर्गबीच सत्ताको लागि सङ्घर्ष चलिरहेको समयमा नयाँ मन्त्रीमण्डलको गठन भएको छ ।

पूर्व टेलिकम मालिक र एक पटक म्यानचेस्टर सिटीको लगानीकर्ता समेत रहेका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा र उनको दलबाट विभाजित दलहरूले पटक पटक निर्वाचनमा विजय प्राप्त गरेका थिए । तर, उनीहरूको सरकारलाई ‘कू’ र अदालतको फैसलामार्फत् हटाएर धेरै पटक सेना निकट अधिकारीहरूको नेतृत्वमा सरकारहरू बनेका थिए ।

थाक्सिनलाइ सन् २००६ मा सेनाले ‘कू’ मार्फत् सत्ताच्युत गरी विभिन्न अभियोग लागेपछि उनी गत वर्षसम्म निर्वासनमा रहँदै आएका थिए ।

संवैधानिक अदालतले प्रमुख प्रतिपक्षी दल मुभ फरवार्ड पार्टीलाई भङ्ग गरेको एक सातामा प्रधानमन्त्री श्रेता थाभिसिनलाई बर्खास्त गरेको थियो ।

स्रेथाको बहिर्गमनले पेतोङ्तार्नलाई शीर्ष पद लिन मार्ग प्रशस्त गरेको छ तर उनले अझै पनि कोभिड–१९ महामारी र मौसमी बाढीले राज्यका धेरै प्रान्तहरूमा विपत निम्त्याएको अर्थव्यवस्थालाई सम्हाल्ने कठिन कार्यको सामना गर्नुपरेको छ।