रामग्राम विकास कोषले पूर्णता पायो



नवलपरासी । भगवान गौतमबुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीमा अवस्थित रामग्राम स्तूपको चौतर्फी विकासका लागि गठित रामग्राम विकास समिति (कोष)ले पूर्णता पाएको छ । रामग्राम नगरपालिकाका प्रमुख पदेन संयोजक रहेको उक्त कोषमा विभिन्न विधाबाट चयन गरिने अन्य चार विज्ञ सदस्यलाई मनोनयन गरिएसँगै कोषले पूर्णता पाएको हो ।

स्थानीयवासीले रामग्राम स्तूपसँग सम्बन्धित अन्य स्थानको विकासका लागि रामग्राम विकास कोष बनाउन गरेको माग रामग्राम नगरपालिकाको नगरसभाद्वारा ‘रामग्राम विकास समिति ऐन, २०८०’ पारित गरिएको थियो । सो ऐनअनुसार अन्य सदस्यको मनोनयन गरि पूर्णता प्रदान गरिएको नगरप्रमुख धनपत यादवले जानकारी दिए ।


उक्त समितिमा कैलाश ठाकुर, नारद यादव, रामप्रसाद पाण्डे र बेचु गौडलाई मनोनयन गरिएको हो । डेढ दशकदेखि स्थानीय सङ्घसंस्थाले माग गरे अनुसार रामग्राम विकास समिति ( कोष)ले पूर्णता पाएको छ ।

‘छिट्टै कार्ययोजना बनाइ काम अगाडि बढाइने छ’, उनले भने । चालु आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले रामग्राम स्तूप क्षेत्रमा अतिआवश्यक काम गर्न ४० लाख बजेट विनियोज गरेको छ । दातृ निकायलाई रामग्राम विकास कोष वृद्धिका लागि आह्वान गरी विकासलाई निरन्तरता दिइने नगर प्रमुख यादवले जानकारी दिए ।