महिला हिंसा नियन्त्रणका लागि सरकार कडा रुपमा प्रस्तुत हुन्छः मन्त्री सुडी



काठमाडौँ । महिला बालबालिका तथा सामाज कल्याणमन्त्री नवलकिशोर साह सुडीले लैङ्गिक हिंसा नियन्त्रण, सामाजिक कल्याण, ज्येष्ठ नागरिक संरक्षणलगायत कार्यक्रम प्रभावकारी रुपमा सञ्चालनमा रहेको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा उनले वैदेशिक रोजगारीका क्रममा रहेका महिलाले भोगेको घरेलु हिंसाका बारेमा ध्यानाकर्षण भएको बताए । महिलामाथि भइरहेको हिंसा नियन्त्रणका लागि सरकारले आवश्यक पहल गरिरहेको उनको कथन छ ।


हिंसापीडित महिलालाई सम्मानपूर्वक राख्नका लागि देशभर नै आश्रयस्थल निर्माणका लागिसमेत मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिँदै उनले मधेस प्रदेशमा उक्त स्थलको निर्माण प्रक्रिया अगाडि बढेको र बागमती प्रदेशमा छिट्टै बोलपत्रको काम अगाडि बढ्ने बताए ।

अछामको छाउपडीसँग जोडिएको एक घटनाको छानबिन प्रक्रिया अगाडि बढिसकेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने मन्त्री साहको भनाइ छ । उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित र सेवाका लागि सरकारले आवश्यक पहल गरीररहेको उल्लेख गरे ।