कतारका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ



काठमाडाें। संसदीय सुनुवाइ समितिले कतारका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको बैठकले कतारका लागि प्रस्तावित राजदूत रमेश चन्द्र पौडेलले संसदीय सुनुवाइ गरेको हो। सो क्रममा प्रस्तावित राजदूत पौडेलले आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेका थिए।


उनले नेपाल र नेपालीको सर्वोपरी हित रक्षा गर्नु र प्रवद्र्धन गर्ने, कतार सरकारसंगको सम्बन्ध विस्तार र सवल बनाउने सम्बन्धमा नेपाल सरकारको प्रतिनिधि भइ आवश्यक कार्यसम्पादन गर्ने जनाए।

कतार र नेपालबीच भएका श्रम सम्झौता पुर्नलेखन र नविकरण गर्दा देखिएका समस्या समाधानका प्रावधान समावेश गर्ने अधिकतम प्रयास गर्ने उनले बताए। रोजगारदाताको कार्यस्थलको अनुगमन गर्ने, कार्यक्षेत्रमा देखिएका श्रमिको समस्या समाधान गर्ने, बैकल्पिक श्रम बजारका लागि संयुक्त पहल गर्ने, प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउने लगाएतका कार्यहरुले आफूले गर्ने पौडेलले उल्लेख गरे।

यसअघि समितिले आइतबार र सोमबार इजरायल, मलेसिया, पाकिस्तान, पोर्चुगल, चीन, डेनमार्क, जर्मनी र भारतका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ गरेको थियो। समितिले २२ गतेसम्म निरन्तर प्रस्तावित राजदूतको सुनुवाई गर्ने जनाएको छ।

त्यस्तै भदौ २४ गते र २५ गते छलफल गरी निर्णय गर्ने गरि कार्यतालिका समितिले बनाएको छ। सरकारले साउन १४ गते बिभिन्न १७ देशका लागि राजदूत सिफरिस गरेको थियो। संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ।