मधेसमा सुविधा सम्पन्न रङ्गशाला बनाउछौंः खेलकुदमन्त्री चौधरी



सिरहा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मधेस प्रदेशमा सुविधा सम्पन्न रङ्गशाला बनाउने बताएका छन् । मधेस प्रदेशमा हालसम्म एउटा पनि रङ्गशाला नभएकाले आफ्नै कार्यकालमा एउटा सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने उनले बताए ।

सोमबार सिरहाको लहानमा नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ सिरहाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री चौधरीले प्रदेशको राजधानी जनकपुरमा एउटा रङ्गशाला नभएको प्रसङ्ग उल्लेख गरे ।


“यहाँका अन्य जिल्लामा पनि छैन, अनि कसरी मधेसमा खेलकुदको विकास हुन्छ ?”, उनले भने । उनले आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा यही वर्षभित्र आयोजना हुने जानकारी पनि दिए ।

त्यसपछि ११औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस प्रदेशमै हुने र त्यसका लागि सुविधा सम्पन्न रङ्गशाला निर्माण गरिने उनको भनाइ छ ।

मन्त्री चौधरीले राष्ट्रको सर्वाङ्गिण विकासका लागि खेलकुदको विकास हुनु उत्तिकै जरुरी रहेको धारणा राखे । उनले आफ्ना छोराछोरीलाई खेलकुदमा लगाउन आग्रह गरे । खेलकुदले राष्ट्रको पहिचान र प्रतिष्ठा बढाउने उनले बताए ।

मन्त्री चौधरीले ११औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरी मधेस प्रदेशको वीरगञ्ज, जनकपुरधाम र राजविराजमा पूर्वाधार निर्माणलाई तीव्रता दिने बताए ।

यसक्रममा जीर्ण रहेको वीरगञ्जस्थित नारायणी रङ्गशालाको केही दिनअघि निरीक्षण गरेको र आइतबार मात्र जनकपुरधामको रामजानकी रङ्गशालाको निरीक्षण गरेको जानकारी दिए ।

नेपाली कांग्रेस सिरहाका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताले मन्त्री चौधरीलाई स्वागत र सम्मान गर्दै मधेसको खेलकुद क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउन आग्रह गरेका थिए ।