रुसी ‘जासुस ह्वेल’ मृत फेला



बीबीसी । रुसी सेनाले तालिम दिएको र जासुसी गर्न प्रयोग भएको आशङ्का गरिएको एउटा ‘बलूगा ह्वेल’ नर्वेको तटनजिकै समुद्रमा मृत फेला परेको छ ।

‘ह्वाल्दिमिर’ उपनाम दिइएको उक्त ह्वेलको शव दक्षिणपश्चिमी नगर रिसाभिकानजिकै पानीमा भेटिएको थियो। त्यसपछि त्यसलाई परीक्षणका लागि नजिकैको बन्दरगाहमा लगियो ।


नर्वेको पानीमा पहिलो पटक पाँच वर्षअघि देखा परेको उक्त ह्वेलको टाउकोमुनि एउटा पट्टी बाँधिएको थियो र त्यसमा ‘गोप्रो’ क्यामरा जडान गरिएको थियो।

उक्त पट्टीमा ‘सेन्ट पिटर्स्बर्गको उपकरण’ लेखिएको थियो । त्यसपछि उक्त समुद्री जीव ‘जासुस’ हुन सक्ने चर्चा चल्यो। विज्ञहरूले विगतमा पनि ह्वेल प्रयोग गरेर जासुसी गरिएको औँल्याएका छन् ।

तर मस्कोले उक्त विषयबारे कुनै प्रतिक्रिया दिएको छैन । ’मरीन माइन्ड’ नामक संस्थाले ह्वाल्दिमिरको शव यो सप्ताहान्त फेला पारेको हो। उक्त संस्थाले सो जीवको गतिविधि केही वर्षदेखि निगरानी गर्दै आएको थियो।

ह्वाल्दिमिरको उमेर १५ वर्ष भएको अनुमान गरिएको छ। बलूगा प्रजातिका ह्वेलहरू ६० वर्षसम्म बाँच्न सक्छन् । ह्वाल्दिमिर पहिलो पटक इन्गोया टापुनजिकै अप्रिल २०१९ मा नर्वेली डुङ्गाहरूको छेउमा पुगेको थियो ।