संघीयता कार्यान्वयन गर्दै विकास निर्माणको गति बढाऔंः वनमन्त्री शाही



काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले संघीयतालाई कार्यान्वयन गर्दै विकास निर्माण कार्यमा गति बढाउनुपर्ने बताएका छन्।

मन्त्रालयले आइतबार यहाँ आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा उनले संघीयतालाई मजबुत बनाउन जनताका आवश्यकतालाई दृष्टिगत गरी विकास निर्माणलाई तीव्रता दिनुपर्ने उल्लेख गरे।


जनताको पक्षमा केही गर्दैनन् भन्ने मान्यतालाई चिर्दै विकासका कामलाई रफ्तारले अघि बढाउनुपर्ने मन्त्री ठकुरीको भनाइ थियो। कार्यक्रममा सहभागी मन्त्रालय मातहतका महानिर्देशक, महाशाखा प्रमुख र प्रदेश सचिवलगायतलाई निर्देशन दिँदै उनले भने, “सामान्य कानुनी बाधा–अड्चनमा अल्झिएर जनतालाई दुःख दिने काम पटक्कै नगर्नूस् । त्यस्ता बाधा–अड्चन फुकाएर जनताका समस्या समाधान गर्न म प्रतिबद्धता छु ।” मन्त्री ठकुरीले संघ र प्रदेशले मिलेर काम गर्नुपर्ने तथा वन जोगाएर विकास निर्माण गर्नुपर्नेमा जोड दिए।

वातावरण तथा वन्यजन्तुमैत्री विकास गर्न आवश्यक देखिएको उल्लेख गर्दै उनले भने, “विकास निर्माणका निम्ति आएका फाइल धेरै दिनसम्म ‘पेन्डिङ’मा राखेर हैरानी दिने काम नगर्नूस् ।” मन्त्री ठकुरीले जनताका काम तत्काल टुङ्ग्याउन निर्देशन दिँदै सरकारी भवन निर्माणमा नेपालमै उत्पादित काठ प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

बैठकमा उपस्थित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले समस्या समाधानमा आयोग प्रतिबद्ध रहेको बताए। प्रदेशमा गएपछि माग्नुपर्छ र सङ्घमा आएपछि दिनुपर्छ भन्ने भावनाले समस्या समधान नगर्ने उनको भनाइ थियो। मन्त्रालयअन्तर्गतका महाशाखा र प्रदेशस्तरका कार्यालयले प्रगति ‘रिपोर्ट’ नियमित रूपमा आयोगमा पठाउनुपर्ने प्राडा अधिकारीको भनाइ थियो।

कार्यक्रममा सहभागी प्रदेश सचिवहरूले कामकाज गर्दा आइलाग्ने बाधा, अप्ठयारा र कानुनी जटिलतालगायत विषयमा धारणा राखेका थिए।