बहुदलीय व्यवस्था स्थापनाको ३५ वर्षे अवधिको गम्भीर समीक्षा गर्ने बेला भयोः उपेन्द्र यादव



पर्सा। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले २०४६ सालको बहुदलीय व्यवस्था स्थापनापछिको ३५ वर्षको अवधिमा भएका गतिविधिको गम्भीर ढंगले समीक्षा गर्नुपर्ने बेला भएको बताएका छन्।

वीरगञ्जमा आइतबार आयोजित ‘जनतासँग जसपा नेपालः आधारभूत संगठन निर्माण’ अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले भने, “२०४६ सालदेखि २०८१ सालसम्म भए/गरेका कामको गम्भीरतापूर्वक पुनःमूल्यांकन र समीक्षा गर्नुपर्ने बेला भएको छ।”


अध्यक्ष यादवले बहुदलीय व्यवस्था स्थापनाको ३५ वर्षे अवधिमा पनि जनताले अपेक्षाकृत ढंगले विकास र अन्य कुराको अनुभव गर्न नपाएको बताए। “यस विषयमा समीक्षा गर्न जरुरी भइसकेको छ,” उनले भने, “मुलुकमा गणतन्त्र स्थापना भएको पनि करिब १६ वर्ष भइसक्यो तर जनताको आवश्यकता र चाहनामा अपेक्षाकृत सुधार हुन नसक्नु गम्भीर विषय हो।”

अध्यक्ष यादवले मुलुकमा गरिबी र बेरोजगारी समस्याले जनताको अवस्था नाजुक बन्दै गएको बताए। “अहिले मुलुकमा बेरोजगारी र गरिबी मुख्य चुनौतीका रुपमा देखापरेको छ,” उनले भने, “अर्कोतर्फ मुलुकमा कृषक र मजदुरको अवस्था पनि झन् कठिन अवस्थाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा मधेसी जनताको संरक्षण र प्रवद्र्धन गर्ने पार्टीको रुपमा क्षेत्रीय पार्टी अग्रसर हुन जरुरी छ।”