महासमितिमा प्रस्ताव गरिएका प्रतिवेदनहरू परिमार्जनसहित केन्द्रीय समितिद्वारा पारित



काठमाडौँ । नेपाली कांग्रेसको गएको फागुनमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनहरू केन्द्रीय समिति बैठकले परिमार्जनसहित पारित गरेको छ । 

साउन २३ गतेदेखि आज (आइतबार)सम्म बसेको केन्द्रीय समिति बैठकले महासमिति बैठकमा प्रस्तुत भएका प्रतिवेदनहरू परिमार्जनसहित पारित गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 


‘महामन्त्रीद्वय र उपसभापतिले प्रस्ताव राख्नुभएको थियो । परिमार्जन गरेर पास गर्न महासमितिले अनुमति दिएको थियो । आज संशोधनसहित पारित भयो‚’ उनले भने । 

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रवक्ता महतले ८४ मा गठबन्धन गर्ने/नगर्ने भन्ने विषयमा पार्टीलाई एकीकृत बढाएर अगाडि एक्लै जित्न सक्ने वातावरण बनाउन लाग्ने निर्णय भएको बताए। महतले संगठन अभियानलाई अगाडि बढाउने निर्णय गरेको बताए।

उनले महामन्त्री विश्वप्रकाश शर्माको पेश गरेको ‘एक्जिट पोलिसी’को विषयमा छलफल गर्दा अहिले निर्णय गर्नु आवश्यकता नभएको बैठकले ठानेको बताए। उनले संविधानको पनि विषयवस्तु भएकाले संविधान संशोधनका समयमा कसरी जान सकिन्छ छलफल गर्न सकिने निर्णय गरेको बताए।

शर्माको प्रतिवेदनमा ‘राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद ४ पटक हुन पाउने पद्धति बसाल्नुपर्छ। कांग्रेसले यो पद्धतिको अनुशरण गर्नुपर्छ, संवैधानिक बस्दोबस्तका लागि पनि कांग्रेसले यो प्रस्ताव पारित गर्नुपर्छ।’ भन्ने उल्लेख थियो।

कांग्रेसले एमालेसँग भएको ७ बुँदे सहमति अनुसार अगाडि बढ्नुपर्ने निर्णय गरेको जानकारी दिए।

ccc