सभापति देउवालाई प्रधानमन्त्री नबन्न महामन्त्री शर्माको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओलीपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नहुने बताएका छन् । आज (आइतबार) केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै उनले अब सभापति देउवाले त्याग गर्नुपर्ने बताएका हुन् ।

महामन्त्री शर्माले वर्तमान सरकार बनाउनुमा कांग्रेसको हात रहेको उल्लेख गर्दै सबैले सहयोग गरेर सफल बनाउनुपर्ने धारणा राखे । त्यसपछि देउवाले प्रधानमन्त्री त्याग गरेर अरु कसैलाई बनाइनुपर्ने उनको जोड छ ।


महामन्त्री शर्माले शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, शशांक कोइराला, अर्जुननरसिंह केसीलागयत कसैलाई प्रधानमन्त्री बनाउने आग्रह गरे । यी नेताहरुलाई प्रधानमन्त्री बनाइँदा सभापति देउवामा त्याग र अन्य नेताहरुप्रति सम्मान पनि देखिने उनको तर्क छ ।

महामन्त्री शर्माले पार्टी महासमिति बैठकमा एक्जिट पोलिसी अगाडि सारेका थिए । अहिले केन्द्रीय समितिले टुङ्गो लगाउने गरी महासमितिबाट पारित उक्त प्रस्तावमाथि छलफल भइरहेको छ । कांग्रेसको विधानमा एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्नुपर्ने महामन्त्री शर्माको प्रस्ताव थियो । उनलेको उक्त प्रस्तावमा व्यापक छलफल भइरहेको छ ।