दुई पटक प्रधानमन्त्री र एक पटक मात्रै राष्ट्रपति बन्न पाउने प्रस्ताव पास हुन्छ : महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिबाट आफूले राखेको प्रस्ताव पारित हुने दाबी गरेका छन् । उनले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने र एकपटक राष्ट्रपति बन्ने प्रस्ताव भोलिको केन्द्रीय समिति बैठकबाट पारित हुने बताए ।

आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री जतिसुकै लोकप्रिय बने पनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने बताए ।


शर्माले भने, ‘कांग्रेसको अहिले १,२,३,४ भन्ने सुन्नुभएको होला । यो देशमा खाली प्रधानमन्त्री उनै उनै उनै अनुहारहरू भइरहँदै गर्दा नागरिकलाई के चासो छ भने ताजा ताजा नेतृत्व कहिले आउँछ ? भन्ने चासो छ । त्यसैले मैले एउटा पोलिसी प्रस्ताव गरेको छु । कुनै पनि राजनीतिक दलले कसैलाई पनि राष्ट्रपति बनाउँदा दुई पटक होइन, यो देशको राष्ट्रपति केवल एक पटक मात्रै बनेर शीतल निवासबाट बढा शीतल शीतल मुद्रामा बिदा भएर जानुपर्छ ।’ 

उनले थपे, ‘अनि प्रधानमन्त्री बन्दै गर्दा उहाँ चारचोटि बन्नुभयो रे, उहाँ पाँच चोटी बन्नुभयो रे ? उहाँ ६ चोटी बन्नुभयो रे, भन्ने खालको अवस्था हाम्रो पुस्तामा अन्त्य गर्नुपर्छ । त्यो अन्त्य गर्न प्रधानमन्त्री जतिसुकै लोकप्रिय हुन्, जतिसुकै जनताको रुवावासी चलोस्, तपाईं फेरि बन्नुपर्छ भनेर जनताले दबाब दिउन्, तर दुई पटक प्रधानमन्त्री भएपछि तीन पटक प्रधानमन्त्री बन्न कसैले पनि पाउनु हुँदैन । यो पोलिसी प्रस्ताव गरेकाे छु ।’ 

तर, सभापति शेरबहादुर देउवाले शर्माको प्रस्ताव स्विकार गर्न नसकिने अडान राख्दै आएका छन् । केन्द्रीय कमिटीको बैठकमा समेत देउवानिकट नेताहरुले शर्माको प्रस्तावको खरो विरोध गरेका थिए ।