पुटिनले आइसिसी सदस्य मङ्गोलियाको भ्रमण गर्ने



रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी साता मङ्गोलियाको भ्रमण गर्ने क्रेमलिनले बताएको छ ।  मङ्गोलिया अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को सदस्य राष्ट्र हो । आइसिसीले पुटिनलाई पक्राउ पुर्जी जारी गरेको छ ।

हेगस्थित आइसिसीले युक्रेनी बालबालिकाको अवैध निर्वासनमा सन् २०२३ मार्चमा पक्राउ पुर्जी जारी गरेपछि राष्ट्रपति पुटिनले आइसिसीको स्थापना सन्धि र रोम विधानलाई अनुमोदन गरेको मुलुकको भ्रमण गरेको यो पहिलो पटक हुनेछ ।


आइसिसी सदस्य राष्ट्रहरूले रुसी नेताले आफ्नो भूमिमा पाइला राखे पक्राउ पर्ने अपेक्षा गरिएको छ । मङ्गोलियाले सन् २००० मा रोम विधान सन्धिमा हस्ताक्षर गरेको थियो र सन् २००२ मा यसलाई अनुमोदन गरेको थियो ।

पुटिनले सेप्टेम्बर ३ मा ‘खल्खिन गोल नदीमा जापानी सैन्यवादीहरूमाथि सोभियत र मङ्गोलियाली सेनाको संयुक्त जितको ८५औँ वार्षिकोत्सव’ मनाउन छिमेकी मङ्गोलियाको भ्रमण गर्ने क्रेमलिनले बताएको छ । उक्त लडाइँ सन् १९३९ मा जापानीहरूले नजिकैको मन्चुरिया कब्जा गर्दा भएको थियो ।

पुटिन र मङ्गोलियाली राष्ट्रपति उखना खुरेलसुखले द्विपक्षीय सम्बन्ध तथा ‘वर्तमान अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दामा विचार आदान प्रदान’ गर्ने क्रेमलिनले उल्लेख गरेको छ ।

यो भ्रमण अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको मङ्गोलिया भ्रमणको एक महिनापछि हुनेछ । वासिङ्टनले भूपरिवेष्ठित मुलुक मङ्गोलियासँग घनिष्ठ सम्बन्ध खोजेको छ ।

क्रेमलिनले आइसिसीको पक्राउ पुर्जीलाई ‘निरर्थक’ भनेको छ ।  सन् २०२२ फेब्रुअरीमा युक्रेनविरुद्ध पूर्णस्तरको आक्रमण सुरु गरेपछि पुटिनले आफ्नो विदेश भ्रमणलाई कम गरेका छन् । आइसिसीले पक्राउ पुर्जी जारी गरेपछि उनले भ्रमणलाई अझ सीमित बनाएका छन् ।