हिमाल आरोही निर्मल पूर्जालाई कारबाहीको माग गर्दै अख्तियारमा उजुरी



काठमाडौं । नेपाली मूलका बेलायती नागरिक निम्स दाइ भनेर चिनिने निर्मल पुर्जामाथि नेपालको पयर्टन क्षेत्र नै बद्नाम गरेको आरोप लाग्दासमेत कारबाही नगरिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पुर्जा विभिन्न गैरकानूनी गतिविधिमा संलग्न रहेको कुरा अख्तियारको उजुरीमा लेखिएको छ ।

पुर्जामाथि गत वसन्त ऋतुमा सगरमाथा आरोहणको क्रममा नेपालको नकारात्मक प्रचार हुने गरी शेर्पा आरोहीले सगरमाथा हिमालको ८ हजार मिटरमाथि डोरी काटेर आरोहण रोकेको भन्ने गम्भीर आरोप र असत्य समाचार सामाजिक सञ्जालमाथि भ्रम फैलाएको आरोप छ ।


पूर्जामाथि विभिन्न संघ, संस्था र सञ्चार मिडिया र रोकारवालाले उजुरी र कारवाहीको माग गर्दासमेत पर्यटन विभाग र मन्त्रालय कसैले पनि किन कारबाही नगरिएको कुरा उजुरीमा समेटिएको छ ।

अख्तियारमा पुर्जाविरुद्ध दर्ता भएको उजुरीमा भनिएको छ,‘नियमविपरित सगरमाथा आरोहणको क्रममा आधार शिविर दुई (२० मा हेलिकप्टर लिई गएको ठहर भई हेलिकप्टर कम्पनी र पाईलटलाई ग्राउण्डेड गरिएतापनि निर्मल पुर्जालाई भने पर्यटन विभागबाट किन केही कारबाही भएन ?’

पुर्जाले नेपाली नागरिकता त्यागेर बेलायती नागरिकता र राहदानी बोकेको एक वर्षभन्दा बढि भैसकेको भएपनि एनआरएनए कार्ड (९–४९–०१–८०–००००४) को दुरुपयोग गर्दै हिमाल आरोहणमा तिर्नुपर्ने दस्तुर छल गरी करोडौं रुपैयाँ हिनामिना र राजश्व छली हुँदासमेत राजस्व अनुसन्धान विभाग, कर कार्यालय र पर्यटन विभागजस्ता सरोकारवाला मन्त्रालयले किन अहिलेसम्म कारबाही नगरेको भनेर उजुरीकर्ताले प्रश्न उठाएका छन् ।

अख्तियारमा सी–००५७३४ (२०८१ साउन १७) गते दर्ता गरिएको उजुरीमा पुर्जामाथि हिमाल आरोहणको क्रममा विदेशी महिला आरोहीमाथि यौन दुव्र्यवहार गरेको भन्ने प्रमाणसहितको समाचार विश्वप्रसिद्ध पत्रिका द न्यूयोर्क टाईम्सले लेखेको कुरापनि समावेश गरिएको छ ।