सुडानको शिविरमा गोलीबारीमा २० जनाको मृत्यु



सुडानी अर्धसैनिकहरूले देशको डार्फर क्षेत्रमा विस्थापितहरूको शिविरमा गोलीबारी गर्दा कम्तीमा २० जनाको मृत्यु भएको एक स्थानीय समितिले बताएको छ । “हामीले अहिलेसम्म अबु शौक विस्थापन शिविरका बासिन्दाहरूको हताहतको बारेमा प्राप्त गरेको जानकारीमा कम्तीमा २० जना मारिएका र ३२ जना घाइते भएका छन्”, अल–फाशरको स्थानीय समितिले भन्यो ।

अल–फाशरलाई अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले डार्फर सहरलाई आफ्नो नियन्त्रणबाट बाहिर निकाल्ने प्रयासमा मे महिनादेखि घेरेको छ । अल–फशर समिति तल्लो तहको नेटवर्कको हिस्सा हो । यसले गत वर्ष सेना र आरएसएफबीच युद्ध सुरु भएदेखि प्रजातन्त्र समर्थक विरोध प्रदर्शनहरू आयोजना गर्न समन्वय गरेको थियो ।


संयुक्त राष्ट्रसङ्घ समर्थित एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण समीक्षाअनुसार तीव्र लडार्इँले अल–फाशर नजिकैको जमजम शिविरलाई भोकमरीमा धकेलेको छ । विश्व खाद्य कार्यक्रमका प्रवक्ता अलेसेन्ड्रा भेलुसीले यहाँ दोस्रो गाडीले लगभग १७ हजार मानिसका लागि दुई सय पाँच टन खाद्य सहायता लिएर गएको बताए ।

सिमानाबाट करिब ४०० किलोमिटर (२५० माइल) टाढा जमजममा मात्रै अहिले भोकमरीको खतरामा रहेका करिब पाँच लाख मानिसको घर छ । सुडानमा द्वन्द्व सन् २०२३ मा सुरु भयो र त्यसले दशौँ हजारको ज्यान लिइसकेको र लाखौँ व्यक्ति विस्थापित भएका छन् । यसले विश्वको सबैभन्दा खराब मानवीय सङ्कटको सामना गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार यहाँ धेरै क्षेत्रमा भोकमरीको सामना गर्नुपरिरहेको छ ।