रामेछाप । रामेछापको सैलुङमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ ।
पहिरोले ३ घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दोरम्बा सैलुङ गाउँपालिका–३ लेकखर्क पहरी गाउँमा गएराति पहिरो खस्दा कम्तीमा ३ घर बगाएको र घटनास्थलमा २ शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार गएराति परेको भीषण वर्षाका कारण गाउँ नजिकै रहेको खोलाको कटानले पहिरो खसेको थियो ।
पहिरोमा बेपत्ताहरुको खोजी कार्य सुरू भएको छ । त्यस्तै, पहिरोले वडा नम्बर २ र ३ जोड्ने ढाईगाउँ खोलाको पुल समेत बगाएको । पहिरो गएको गाउँ जाने बाटोसमेत वर्षाले क्षतिग्रस्त बनाएका कारण उद्धारमा समस्या देखिएको प्रहरीले जनाएको छ ।