कालीगण्डकी करिडोरको पहिरोले यात्रुलाई सास्ती



गलकोट (बागलुङ) । सडकको ट्रयाक बगाएपछि राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड पटकपटक अवरुद्ध हुँदा यात्रीलाई समस्या भएको छ ।

उक्त खण्डको दब्ल्याङमा पहिरो जाँदा दुई महिनायता करिडोरका यात्रीलाई गन्तव्यसम्म पुग्न सास्ती हुँदै आएको हो । पटकपटक अवरुद्ध हुँदै आएको करिडोरको बागलुङ खण्ड पाँच दिनदेखि पुनः ठप्प भएको छ ।


लगातारको वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा करिडोरअन्तर्गत ट्र्याक बगाउँदा पाँच दिनदेखि सवारीसाधन गुड्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त खण्डसँगै बलेवा कुश्मिसेरा जाने शाखा सडकसमेत अवरुद्ध हुँदा पाँच दिनदेखि बागलुङको दक्षिण भेग सडक सम्पर्कसँग टुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

यही भदौ २ गते रातिको पहिरोले सडकमा थप क्षति पु¥याएकामा ३ गते सडक सञ्चालनमा ल्याउने प्रयास असफल भएपछि उक्त खण्ड अहिलेसम्म पूर्ण रुपमा ठप्प भएको उनले बताए । दब्ल्याङमा सडकको ट्र्याक करिब ४० मिटर बगाएको छ । उक्त पहिरोमा माटो पुरेर सडक खुलाइए पनि पानीपर्दा सडक अवरुद्ध हुने भएकाले दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्नुपर्नेमा प्रहरी नायब उपरीक्षक यादवले जोड दिए ।

दब्ल्याङको पहिरोका कारण करिडोर र जैमिनी नगरपालिका आउने दुवै खण्ड बन्द भएपछि यहाँका स्थानीय झोलुङ्गे पुल तरेर कुश्मा हुँदै बागलुङ आउन बाध्य भएका बलेवा निवासी कृष्ण लामिछानेले बताए । “करिडोरका कारण गन्तव्यको टुङ्गो हुँदैन, कुश्मा पुगेर झोलुङ्गे पुल तरेपछि दुई घण्टा हिँडेर घर पुगिन्छ”, उनले भने, “बिरामी हुँदासमेत समयमा अस्पताल पु¥याउन बागलुङको दक्षिण भेगका स्थानीयलाई सास्ती भएको छ ।”

सडकको विकल्पमा पक्की पुल बनाउन यस वर्ष गण्डकी प्रदेशले ठेक्का लगाउने तयारी गरेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । उनका अनुसार करिडोरको दब्ल्याङमा गत असार २६ गतेदेखि लगातार लेदो बगिरहेको छ । लेदो पन्छाएर सडक खुलाए पनि पानी पर्दासाथ सडक अवरुद्ध हुँदै आएको उनले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा पछिल्लो पाँच दिनदेखि बागलुङको दक्षिण भेग जोड्ने बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको जिल्ला सदरमुकामसँगको सडक सञ्जाल टुटेको छ । दब्ल्याङको पहाड गहिरिएर पहिरो गएकाले बलेवा, भकुण्डे, कुश्मिसेरा र बरेङ जाने सवारीसाधन अलपत्र पर्दै आएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।