भारतीय प्रधानमन्त्री मोदी पोल्यान्डमा



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ऐतिहासिक भ्रमणका क्रममा बुधबार पोल्यान्ड पुगेका छन् ।

 रुस–युक्रेन युद्धको ‘शान्तिपूर्ण समाधान’ का लागि अभियान सुरु गर्न यसै साताको अन्त्यमा युक्रेनको भ्रमण गर्नुअघि उनी पोल्यान्ड पुगेका हुन् । 


युक्रेनको भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन् । साथै उनी ४५ वर्षमा पोल्यान्डको भ्रमण गर्ने पनि पहिलो भारतीय प्रधानमन्त्री हुन् । 

पोल्यान्ड युक्रेनको कट्टर सहयोगी तथा छिमेकी देश हो र किएभ जाने विदेशी नेताहरूका लागि पोल्यान्ड महत्त्वपूर्ण ‘ट्रान्जिट’ पनि हो ।

 मोदीले बिहीबार पोलिश प्रधानमन्त्री डोनाल्ड टस्क र राष्ट्रपति आन्द्रेज डुडाका साथै यस मुलुकमा रहेका भारतीय नागरिकहरूसँग भेट्ने अपेक्षा गरिएको छ । 

उनको भ्रमणअघि पोल्यान्डका उपप्रधानमन्त्री व्लादिस्लाव कोसिनियाक–कामिजले पत्रकारहरूसँग भने, “पोल्यान्डलाई भारतसँग दिगो साझेदारीको आवश्यकता छ ।”

मोदीले रुससँग भारतको ऐतिहासिक रूपमा न्यानो सम्बन्ध कायम राख्नुका साथै क्षेत्रीय प्रतिद्वन्द्वी चीन विरुद्ध पश्चिमी मुलुकहरूसँग घनिष्ठ सुरक्षा साझेदारी गरेर नाजुक सन्तुलन बनाएका छन् ।

उनको सरकार युक्रेनमा रुसको सन् २०२२ को आक्रमणको स्पष्ट निन्दा गर्न पन्छिएको छ । यसको सट्टा उसले दुवै पक्षसँग वार्तामार्फत आफ्ना मतभेदहरू समाधान गर्न आग्रह गरेको छ । 

पोल्यान्ड प्रस्थान गर्नुअघि बुधबार प्रकाशित विज्ञप्तिमा मोदीले भने, “एक मित्र र साझेदारका रूपमा हामी यस क्षेत्रमा चाँडै शान्ति र स्थिरता फर्किने आशा गर्दछौँ ।”

किएभमा प्रधानमन्त्री मोदीले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग छलफल गर्ने र ‘युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानमा दृष्टिकोण साझा गर्नुहुने’ विज्ञप्तिमा उल्लेख छ । 

सोमबार जेलेन्स्कले मोदीको भ्रमणका क्रममा ‘धेरै दस्तावेजमा हस्ताक्षर हुने अपेक्षा गरिएको’ बताए । 

जुलाईमा रुसले युक्रेनका धेरै सहरमा आक्रमण गरेको केही घन्टापछि मोदीले मस्कोको भ्रमण गरेका थिए र आफ्नो निवासमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अंकमाल गर्दै फोटो खिचेका थिए । जेलेन्स्कीले यसको निन्दा गरेका थिए । 

मोदीले सन् २०१९ मा पनि रुसको भ्रमण गरेका थिए र दुई वर्षपछि मस्कोले युक्रेनविरुद्ध आफ्नो आक्रामक अभियान सुरु गरेको केही साताअघि नयाँदिल्लीमा पुटिनलाई स्वागत गरेको थियो । 

भारत धेरै हदसम्म रुसको स्पष्ट निन्दा गर्न र क्रेमलिनलाई लक्षित गर्ने संयुक्त राष्ट्रसंघीय प्रस्तावहरूबाट टाढा रहेको छ ।