जसपा नेपालले तय गर्यो पार्टीका जनप्रतिनिधिको भूमिका



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका जनप्रतिनिधिको लागि पार्टीले भूमिका तय गरेको छ । पार्टीका संघीय सांसद, प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई सङ्गठन निर्माण अभियानका साथै आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पार्टीले निर्देशन गरेको छ ।

जसअनुसार संसदमा राष्ट्रिय समस्या र जनसरोकारका सवालहरूलाई सांसदले प्रभावकारी ढंगबाट प्रस्तुत गर्ने र प्रदेश सभामा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न भनिएको छ ।


त्यस्तै, पार्टीले सांसदहरुलाई सरकारका जनविरोधी कार्यहरू, जनसरोकारका सवालहरू र प्रदेशका समस्याहरूलाई जोडदार रूपले प्रस्तुत गर्न निर्देश गरेको छ ।

जसपा, नेपालले चार महिने आधारभूत सङ्गठन निर्माण अभियानको दौरान स्थानीय तहका जनप्रतिनिधिहरूको भेला गरी लोकप्रिय कार्यक्रम पारदर्शी ढङ्गबाट गर्न र त्यसको प्रचार–प्रसार जनताको बीचमा गर्नुका साथै स्थानीय तहका जनप्रतिनिधिहरूलाई आवश्यक प्रशिक्षणको व्यवस्था गर्न समेत भनेको छ ।