बानेश्वरबाट शंखमुल जाने सडक भासियो



काठमाडौं । संघीय संसद भवन नजिकै बानेश्वरमा सडक भ्वाङ परेको छ । बानेश्वर चोकबाट शंखमुल जाने बाटोमा सय मिटर पर बानेश्वर मल अगाडि सडकको बीचमा भ्वाङ परेर भासिएको हो ।

अहिले भ्वाङ टाल्न काठमाडौं महानगरको डोजर ल्याइएको छ । सडकमुनि रहेको खानेपानीको पाइप लिकेज भएर सुरुङ जस्तो निर्माण भएपछि सानो प्वाल देखिएको थियो । उक्त भ्वाङ खोल्दै जाँदा ठूलो भ्वाङ भेटिएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईले जानकारी दिए । 


यसअघि दरबारमार्गबाट कमलादीतर्फ आउने सडकमा टुकुचा खोला छोपेर बनाइएको सडकमा पनि भ्वाङ परेको थियो । पछिल्लो समय सडक भासिने र भ्वाङ पर्ने क्रम बढेको छ ।