सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेस्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न रक्षामन्त्री मानवीर राई नेतृत्वको टोली आइपुगेको छ ।
नेपाली सेनाका प्रवक्ता गौरव केसीका अनुसार रक्षामन्त्री राई शनिबार बिहान साढे ७ बजे सेनाको हेलिकोप्टरमार्फत काठमाडौंबाट थामेका लागि उडेका थिए ।
यहाँ आएर उनले पीडितहरूको अवस्था बुझेका छन् । बाढीबाट प्रभावित ९३ जनालाई नजिकको सामुदायिक भवनमा तत्कालका लागि स्थानान्तरण गरिएको छ । बाढीबाट क्षति भएसँगै नेपाली सेनासहितको सुरक्षा फौज र स्थानीय जनप्रतिनिधिको सहयोगमा त्यस क्षेत्रमा उद्धार र राहतको काम भइरहेको छ ।
बाढीले प्रभावित बस्तीभन्दा केही तल रहेको पक्की पुलमा क्षति पुर्याएको छ । शुक्रबार थामे खोलामा लेदोसहितको बाढी एक्कासी उर्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्यचौकीमा पूर्ण रूपमा क्षति भएको छ ।