गृहमन्त्री लेखकद्वारा पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण



काभ्रेपलाञ्चोक। गृहमन्त्री रमेश लेखकले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ मा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको आज अनुगमन निरीक्षण गरेका छन्। भारत सरकारको अनुदानमा निर्माणाधीन प्रतिष्ठानको भौतिक संरचना निर्माणको अवस्था अनुगमन गरी उनले यसको प्रगतिबारे जानकारी लिएका हुन्।

गृहमन्त्री लेखकलाई रु १० अर्ब ५२ करोडको लागतमा निर्माणाधीन प्रतिष्ठानको संरचना निर्माणबारे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी गराए। यस्तै, लेखकलाई भारतीय निर्माण कम्पनीका प्रतिनिधिले आयोजना निर्माणको प्राविधिक पक्षबारे जानकारी गराएका थिए। लेखकले आयोजनाको अनुगमनका क्रममा गुणस्तरीय तरिकाले निर्धारित समयमा निर्माणको काम सम्पन्न गर्न निर्माण पक्षलाई आग्रह गरेका छन्।


गृहमन्त्री लेखकले निर्माणाधीन प्रतिष्ठानको निर्माणका क्रममा केही समस्या आए तत्काल आफूलाई जानकारी गराउनसमेत आग्रह गरे। ‘प्रतिष्ठानको निर्माण कार्य समयमै सक्नुहोला, यसबीचमा केही समस्या आए तत्काल मलाई भन्नुस् समाधान गरिहाल्छौँ’, उनले भने। भारतको सहयोगमा उक्त प्रतिष्ठान निर्माण भएकामा लेखकले राजदूतमार्फत भारतीय सरकारसँग खुसी व्यक्त गरेका छन्।

अनुगमनका क्रममा राजदूत श्रीवास्तवले निर्माणको काम समयमै सक्नेगरी जनशक्ति परिचालन गरिएको बताए। उनका अनुसार हाल दैनिक आठ सय जनशक्ति परिचालन गरिएकामा निर्माण कार्य समयमा सक्न थप जनशक्ति थप्ने तयारी गरिएको छ। करिब ८० प्रतिशत भौतिक निर्माणको काम सकिएको उहाँको भनाइ थियो।

अनुगमनमा पूर्वसांसद एवं नेपाली कांगे्रसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादे, पनौतीका नगरप्रमुख रामशरण भण्डारी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी)का निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी, बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रज्वल महर्जनलगायतको सहभागिता थियो।

विसं २०७९ असारमा निर्माण सुरु भएको आयोजना भारतीय निर्माण कम्पनीसँग आगामी २०८२ असारमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ। करिब आठ सय ६० रोपनी क्षेत्रफलमा निर्माणाधीन प्रतिष्ठानमा प्रशासनिक भवन, शैक्षिक भवन, खेलकुद भवन तथा मैदान, स्विमिङ पुल, अडिटोरियम हल, हेलिप्याडलगायतका एक सय छवटा भौतिक संरचना निर्माणको काम भइरहेको छ।