काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले जनतामा उत्पन्न भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्नुपर्ने बताएका छन्।
ललितपुर, च्यालसस्थित एमाले पार्टी कार्यालयमा आज एमाले सामाजिक सेवा विभागको १०आँै बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको बिग्रँदै गएको परिस्थिति सम्हाल्नका लागि एमाले र नेपाली कांग्रेस पार्टी मिलेर सरकार गठन गर्ने अवस्था आएको हो भने।
उनले देशमा अस्थिरता सिर्जना हुन नदिन आर्थिक विकास सँगसँगै सामाजिक विकासको अवधारणा (मोडेल)मा पनि ध्यान दिनुपर्ने बताए।
उनले जनभावना के कुरासँग गाँसिएको छ भन्ने कुरामा पनि सरकारले ध्यान दिनुपर्ने र समाजमा के मुद्दाले असर गरिरहेको छ भन्ने बुझ्नुपर्छ भने। ‘बंगलादेश दक्षिण एसियामै नमुना आर्थिक विकास भइरहेको देश हो तर त्यहाँ आरक्षणको मुद्दालाई समयमै जनभावनाबमोजिम सम्बोधन हुन नसक्दाको परिणाम बंगलादेश अहिले अस्थिरता र अन्योलको अवस्थामा पुगेको छ’, उनले भने। उनले समग्र सामाजिक क्षेत्रमा प्रभावकारी नेतृत्व गर्ने योजना बनाउन पनि विभागलाई सुझाव दिए।
एमाले उपाध्यक्ष तथा सामाजिक विकास सम्बद्ध विभाग संयोजक अष्टलक्ष्मी शाक्यले समाजमा देखिएका समस्या समाधान गर्न एमाले अग्रसर हुनुपर्ने धारणा राखिन्।
सो अवसरमा निवर्तमान विभाग प्रमुख झपट बोहोराको बिदाइ र विभाग प्रमुखमा नयाँ जिम्मेवारी सम्हाल्नुभएका कल्पना चापागाईंलाई स्वागत गरिएको थियो।