कर वृद्धिको विरोधमा व्यवसायीद्वारा व्यवसाय बन्द



बागमती । कर वृद्धिको विरोधमा व्यवसायीले आफ्नो व्यवसाय बन्द गरी हेटौँडा उपमहानगरपालिका कार्यालय अगाडि धर्ना बसेका छन् ।

मकवानपुर उद्योग वाणिज्य सङ्घको आह्वानमा व्यवसायीले आ–आफ्ना व्यवसाय बन्द गरेर उपमहागरपालिका कार्यालय अगाडि धर्ना बसेका हुन् । सो क्रममा व्यवसायीले सटरको साँचोसमेत उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँलाई बुझाएका छन् ।


हेटौँडा उपमहानगरपालिकाको नगरसभाले अर्थसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८१ पारित गर्दै करको दरमा वृद्धि गरेको विरोधमा व्यवसायी आन्दोलित भएका छन् ।

विश्वव्यापी आर्थिक मन्दीका कारण व्यापार व्यवसाय सङ्कटमा परेका बेला हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा घरवहाल करदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजस्व वृद्धि गरेकोले आन्दोलनमा मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णगुप्ता अग्रवालले बताए । राजस्व वृद्धिको निर्णय नसच्याएसम्म आफूहरु आन्दोलन जारी राख्ने उनको भनाइ छ । यता हेटौँडा उपमहानगरपालिकाले करको दरमा गरिएको हेरफेरको निर्णयबाट पछि हट्न नसक्ने जनाएको छ ।

उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले उपमहानगरपालिकाको १५औँ नगरसभाले अर्थ सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८१ पारित गरी जारी भइसकेको अवस्थामा व्यवसायीले उठाएको माग सम्बोधन गर्न नसकिने बताए ।

‘‘स्थानीय सरकारले आर्थिक ऐन जारी गरेपछि करको दरमा तत्काल हेरफेर गर्न सकिँदैन्”, उनले भने, ‘‘अब आगामी आर्थिक वर्षमा के गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरी टुङ्गो लगाउन सकिन्छ ।” यसका लागि पहल भइरहेको उनको कथन छ ।