प्रदेशवासीको गुनासो सुन्न कोशीमा ‘हेल्लो सीएम’ कार्यक्रम सुरु



विराटनगर । कोशी प्रदेश सरकारले जनताका गुनासो सुन्न बिहीबारदेखि ‘हेल्लो सीएम’ सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेल्लो सीएम सेवाको सुरुआत गरेका हुन् ।

२४ सै घण्टा जनताका गुनासो सुन्न सकिने गरी व्यवस्थापन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।


प्रदेश सुशासन ऐन, २०७६ अनुसार हेल्लो सीएम सुरु गरिएको र यसबाट शासकीय सुधारमा सहयोग पुग्ने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गरे । “सरकारका विभिन्न सेवा र निकायका काम–कारबाहीलाई प्रभावकारी बनाउन कार्यक्रम महत्त्वपूर्ण हुनेछ,” उनले भनेका छन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टै कक्ष निर्माण गरी कर्मचारीको समेत व्यवस्थापन गरेर हेल्लो सीएम सञ्चालनमा ल्याइएको बताइएको छ । प्रदेश सरकारसँगका गुनासो वा अरू सहयोगका निम्ति टोल फ्री नम्बर १६६०२१५२००२ मा फोन गर्न सकिनेछ ।