बोलेरो भिरबाट खस्दा एकजना घाइते



म्याग्दी (बेनी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा रोकेर सामान राख्दै गरेको बोलेरो दुर्घटना हुँदा स्थानीय भीमबहादुर पुन सख्त घाइते भएका छन् । आज बिहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग१ज ७९४५ नंको बोलेरोे भिरालो सडकबाट पछाडि गुडेपछि भिरबाट खसेको थियो ।

बोलेरोसँगै खसेका पुनको गाउँमै प्राथमिक उपचार गरेर थप उपचारका लागि बेनी पठाइएको स्थानीय शिक्षक प्रदीप पुनले बताए । टिकोट गाउँको खेलमैदान नजिक बोलेरोमा चालक केशव पुन र स्थानीय कुमार पुनले सामान राख्दै गरेको समयमा भिरालो सडकमा गाडी पछाडि गुडेपछि दुर्घटना भएको थियो ।


सामान राख्दै गरेका दुवै जना र बोलेरोभिर सवार स्थानीय वीरबहादुर गर्बुजाले हाम फालेर बाहिर निस्किन सफल भएका थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको र गाउँमै उपचार गरिएको छ । सडकमा बोलेरो रोकेर टायरमा ढुङ्गाको ओट लगाएको भए पनि एक्कासि पछाडि बगेपछि दुर्घटना भएको चालक पुनले बताए ।