दुई संसदीय समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक



काठमाडौं। संघीय संसद् सचिवालयले संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ।

सभामुख देवराज घिमिरेले ती समितिका सभापतिको निर्वाचनका लागि भोलि साउन ३१ गते बिहीबारको मिति निर्धारण गर्नु भएअनुसार निर्वाचन कार्यक्रम प्रकाशन गरिएको सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ।


निर्वाचन कार्यक्रमअनुसार, समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने भनी अर्को एक सदस्यको समर्थनसहित आज दिनको २ देखि ४ बजेसम्म नयाँबानेश्वर संसद् भवनस्थित महासचिवको कार्यकक्षमा प्रस्तावकले प्रस्ताव दर्ता गर्नुपर्नेछ । सोही दिन ४:३० बजे निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको क्रमअनुसार सूची प्रकाशित हुनेछ।

भोलि बिहीबार ३ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थक गरेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा उल्लेख छ।

प्रतिनिधिसभा निर्वाचन भएको करिब डेढ वर्षपछि ती समितिका सभापति चयन हुन लागेको हो । यसअघि संसदीय सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुँदै आएको थियो भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको गठन नै भएको थिएन।