नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक



काठमाडाैँ । नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक बस्दैछ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९ः१५ बजे बैठक सुरु हुने जनाइएको छ। बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नेछन् भने साउदी अरबको नेतृत्व साउदीका विदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन् । 


भेटवार्तापछि दुवै देशका परराष्टमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ ।

साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन् । साउदी अरब अधिराज्यका विदेशमन्त्रीले नेतृत्व गरेकाे प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले दिवाभोज आयोजना गर्नेछन् ।

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

आज अपराह्न उनी स्वदेश फर्कने कार्यक्रम छ ।