सामुदायिक वनमा आइतबारदेखि डढेलो, तीन घर जोखिममा



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ स्थित कात्तिके सातपाखा सामुदायिक वनमा आइतबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । क्रमशः आगो फैलिँदै गएपछि मानव बस्तीहरू जोखिममा परेको उक्त सामुदायिक वनका अध्यक्ष श्रीप्रसाद घिमिरेले जानकारी दिए ।

“अचानक आइतबारदेखि लागेको आगो नियन्त्रण गर्न गए रातिदेखि नै खटिरहेका छौँ, रातभर सुत्न पाएको छैन, केही बस्ती र एउटा स्कुल जोगायौँ, अहिले भञ्ज्याङ आसपासमा आगो पुग्यो, यहाँका तीन वटा घर जोखिममा देखिएका छन्”, अध्यक्ष घिमिरेले भने । उनका अनुसार उक्त घर जोगाउन अग्नि रेखा बनाईएको छ ।


आगो नियन्त्रणमा स्थानीय ३०/३५ जना युवा खटिएका छन् । खोक्लिङ प्रहरी चौकीबाट प्रहरीको टोली खटिएको घिमिरेले बताए । आगलागीले सामुदायिक वनको ५० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ । आगलागी क्षेत्र भिरैभिर भएकाले आगो नियन्त्रणमा समस्या भएको स्थानीयले जानकारी दिए ।

दुम्जा र रातमाटे बस्ती आगलागीबाट जोखिममुक्त भएका छन् । मेवाखोला नजिकैबाट आगो सुरु भएको थियो । आगलागी कसरी भयो भन्ने एकीन भएको छैन । खोक्लिङका केही वन प्राय आगलागीको चपेटामा पर्दै आए पनि जोखिम न्यूनीकरणका लागि ठोस उपाय भने भएको देखिदैन ।

जिल्लाका अन्य क्षेत्रमा वन डढेलोका घटना वर्षेनी दोहोरिने गरेका छन् । आगलागीले वन क्षेत्र सखाप हुँदै आए पनि वन सम्पदाको संरक्षणमा विशेष ध्यान कसैले नदिने गरेको स्थानीयको गुनासो छ ।