युवालाई विश्वस्त पार्न वर्तमान गठबन्धनः सञ्चारमन्त्री गुरुङ



कीर्तिपुर (काठमाडौँ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा वर्गमा मुलुकमा बसेर पनि भविष्य बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन वर्तमान सरकार गठन भएको बताएका छन् ।

राजधानीको मच्छेगाउँस्थित न्यू होराइजन एकेडेमीद्वारा यस वर्षको एसइई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले युवाको सीप विकास गर्ने गरी शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने धारणा राखे । शिक्षालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने र विद्यालयदेखि विश्वविद्यालयसम्मको पठनपाठन, परीषालगायत काम क्यालेण्डरअनुसार तोकिएको समयमा हुने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।


“शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको विकास र गुणस्तर वृद्धि गर्न राजनीतिक स्थिरता आवश्यक पर्दछ”, सञ्चारमन्त्री गुरुङले भने । उनले संसद्मा पहिलो र दोस्रो ठूला दल मिलेर बनेको गठबन्धनले राजनीतिक स्थिरताका साथै शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले आफूले रोजेको विषय वा क्षेत्रमा पूर्ण मेहनत र लगाबका साथ अध्ययन गरे असफल हुनु नपर्ने बताए । विद्यार्थीलाई विज्ञान तथा प्राविधिक वा व्यवस्थापन वा कुनै पनि विषयमा विज्ञता हासिल गर्नेतर्फ लाग्न उनले आह्वान गरे ।

“यसका लागि मेहनत र लगाब चाहिन्छ । मेहनत ग¥यो भने सफलता प्राप्त गर्न सम्भव छ । दुवैखुट्टा नभएकाले पनि सगरमाथा चढेकाको उहाहरण छन्”, मन्त्री गुरुङले भने । विद्यार्थीलाई ठूलो सपना देख्न र त्यसलाई पूरा गर्नेतर्फ लाग्न उनले आग्रह गरे ।

बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठले आफ्नो लक्ष्यप्राप्तिका लागि दृढ भएर लाग्न सबै विद्यार्थीलाई आग्रह गरे ।

कार्यक्रममा मन्त्री गुरुङले एसइईमा उत्तीर्ण विद्यार्थीलाई समान्न पत्र प्रदान गरेका थिए । विद्यालयबाट एसइईमा सहभागी ५७ जना नै उत्तीर्ण भएका थिए । ए प्लस हासिल गर्ने विद्यार्थी १३ जना रहेका विद्यालयले जनाएको छ ।