लुम्बिनीका प्रदेशसभा सदस्यलाई ‘सूचनाको हक’ बारे जानकारी



बाँके । लुम्बिनी प्रदेशसभाका सदस्यहरूलाई सूचनाको हक कार्यान्वयनबारे जानकारी दिइएको छ ।

राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘सुशासनका लागि सूचनाको हक’ विषयक लुम्बिनी प्रदेशस्तरीय दुईदिने गोष्ठीको आज कोहलपुरमा समापन गर्दै लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाणले आधुनिक प्रविधिको प्रयोग गरी सूचनाको हकलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताइन् ।


उनले सार्वजनिक निकायबाट प्रवाह हुने सेवा चुस्तदुरुस्त र प्रभावकारी बनाउन सूचनाको हक जरुरी भएको औँल्याउँदै सार्वजनिक सरोकारको विषयमा सूचना पाउने नागरिक हकलाई स्थापित गर्न यसले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

लुम्बिनी प्रदेशसभाका सदस्य दुर्गालाल चौधरीले सूचनाको हक तल्लो वर्गसम्म कसरी पुर्‍याउने भन्ने विषय चुनौतीपूर्ण भएको उल्लेख गर्दै सूचनाको हकलाई फराकिलो ढङ्गले सोच्नुपर्ने बताए ।

प्रदेशसभाका सदस्य डिलकुमारी बुढाले सूचनाको हक र प्रविधिका बारेमा जानकारी प्राप्त भएको बताए । राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नकुमार मैनालीले सूचनाको हकको प्रयोगले धेरै उपलब्धि हासिल भएको जानकारी दिँदै आयोगले सूचना आयोगबाट हुने कामबारे प्रदेशसभा सदस्यलाई जानकारी दिन र कानुन निर्माणको तहमा सघाउ पुर्‍याउने उद्देश्यले गोष्ठीको आयोजना गरेको बताए ।

पदधारण गर्दा अपनाइने गोपनियताको विषय हटाउन आवश्यक भएकामा जोड दिँदै आयुक्त मैलानीले सूचनाको हक कार्यान्वयनमा जनप्रतिनिधिले हैरानी मान्न नहुने उल्लेख गरे । गोष्ठीमा संविधानविद्, काशिराज दाहाल, राससका पूर्वअध्यक्ष तारानाथ दाहाल, आयुक्त मैनाली, आयोगका निमित्तसचिव युवराज अधिकारीले भिन्दाभिन्दै विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सो गोष्ठीमा करिब ३५ जना लुम्बिनी प्रदेशसभा सदस्यको सहभागिता रहेको थियो ।