नियम विपरित बनेका संरचना भत्काइँदै



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ११ स्थित कलुवापुर–बेलौरी सडकको क्षेत्राधिकारभित्र बनाइएका भौतिक संरचना हटाइने भएको छ । सडकको दायाँ बायाँ १५ मिटरको क्षेत्रमा बनाइएका खोका, छाप्रा, टहरा, ठेला, व्यावसायिक सामग्री, प्रचारप्रसारका सामग्री, पक्की भौतिक संरचना लगायत हटाउन लागिएको हो ।

सडक क्षेत्राधिकारभित्रका संरचना हटाउनका लागि तीन दिने सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित व्यक्तिहरूलाई जानकारी दिने कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकत खेमराज बिष्टले जानकारी दिए ।


उनका अनुसार यही साउन २७ गतेदेखि अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिने छ । “सडक अतिक्रमण हुँदा सवारी साधनको आवागमनमा असहज हुँदा दूर्घटनाको जोखिम उच्च रहेको छ” उनले भने, “सडकको सुन्दरतामा समेत प्रतिकूल असर परेको छ ।”

सूचनाको अवज्ञा गरी अवैध संरचना सम्बन्धित पक्षले नहटाए प्रचलित कानुन अनुसार कारवाही प्रक्रिया अगाडी बढाइने उनले बताए । सडक अतिक्रमण हुँदा पानीको निकास थुनिएर बजार क्षेत्र जलमग्न हुने गरेको छ । सम्भावित संक्रामक रोगहरू फैलिन सक्ने उच्च सम्भावना बढेर गएपछि नगरपालिको अवैध संरचना हटाउनका लागि प्रक्रिया अगाडि बढाएको बताइएको छ । दुई दिनअघि मात्रै नगरपालिकाले थुनिएको पानीको निकास अस्थायी रूपमा खोलेको थियो ।

पानीको निकास हुने ठाउँमा पक्की भौतिक संरचना निर्माण गरिँदा दिगो व्यवस्थापन हुन सकेको छैन । यसअघि नगरपालिकाले पूर्वपश्चिम राजमार्गको झलारी, वनसमिति लगायत बजारका अवैध सडक क्षेत्र अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाएको थियो ।