चार सहिदको बलिदानबाट कर्णाली प्रदेश स्थापना भएको हो : मुख्यमन्त्री कँडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चार सहिदको बलिदानबाट कर्णाली प्रदेश स्थापना भएको बताएका छन् ।

याम बिसी स्मृति प्रतिष्ठान सुर्खेतको आज स्मरणपत्र ग्रहण गर्दै उनले सीमाङ्कनको विषयलाई लिएर विसं २०७२ साउन २३ देखि भदौ ४ गतेसम्म भएको कर्णाली आन्दोलनमा जीवन बलिदान दिएका सहिदकै कारण प्रदेश स्थापना भएकाले उनीहरूको योगदान बिर्सन नसकिने बताए ।


कर्णालीलाई छुट्टै प्रदेशको माग गर्दै भएको आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टिकाराम गौतम र गोपालसिं रजवारको बलिदानीपूर्ण योगदानले प्रदेशका जन्म भएको मुख्यमन्त्री कँडेलले स्मरण गरे ।

उनले भने,“चार जना सहिदहरूको बलिदानीको जगमा कर्णाली प्रदेश स्थापना भएको हो । त्यसैले उहाँहरू प्रति हाम्रो उच्च सम्मान छ । प्रतिष्ठानमार्फत विगतमा माग राखेर सरकारलाई बुझाएको पत्र, त्यसमा भएका निर्णय र प्रगतिका बारेमा अध्ययन गरेर थप निर्णय गर्छु”, कँडेलले भने ।

मुख्यमन्त्री कँडेलले जसलाई पनि सहिदहरूको पङ्क्तिमा राख्दा वास्तविक सहिदको अवमूल्यन भएको भन्दै वास्तविक सहिदको सम्मानका लागि प्रतिष्ठानले राखेका माग सम्बोधनका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

याम स्मृति प्रतिष्ठानका अध्यक्ष भगवती बिसीले सहिद परिवारका सदस्यहरूबाट कम्तीमा एकजनालाई स्थायी रोजगारी तथा शिक्षा, स्वास्थ्यलगायतका आवश्यक विषय सुनिश्चित गर्नुपर्ने माग रहेको जानकारी गराए ।

यस्तै सहिदहरूको जीवन समेटिएको स्थानीय पाठ्यक्रम बनाउनुपर्ने, प्रदेश राजधानीका मुख्य चोकमा सहिदको सालिक निर्माण, विभिन्न सडक, पार्क, चोकको नामाकरण गर्नुपर्नेलगायत सातबुँदे माग राखिएको बताए ।