पुलापछैका मल्लकालीन सम्पदा नासिँदै



गलेश्वर (म्याग्दी) । जिल्लाको बेनी नगरपालिका–५ पुलापछैमा रहेका पाँच सय वर्ष पुराना मल्लकालीन सम्पदा संरक्षणको अभावमा नासिँदै जान थालेका छन् ।

तत्कालीन पर्वतका राजा डिम्वम मल्ल र उनका सन्तानले पानी पिउन प्रयोग गरेको पाँच सय वर्ष पुरानो कुवा र पुलाडाँडामा तत्कालीन पर्वत राज्यको राजधानी ढोलठानका राजाले धान कुट्ने गरेको ओखल संरक्षणको अभावमा अलपत्र परेका हुन् ।


करिब पाँच सय वर्ष पहिले पर्वत राज्यको विरासतसँग जोडिएको ढोलठान क्षेत्रमा ऐतिहासिक महत्वका सामग्रीहरू रहेका भन्दै पहिचान र संरक्षणको अभावमा अलपत्र परेका स्थानीय बुद्धिजीवि शिव बानियाँले बताए । अलपत्र परेका ती ऐतिहासिक सामग्रीमध्ये कालो पत्थर (ढुङ्गा) लाई छिनाले कुँदेर बनाइएको ओखल अहिले पुलाडाँडाको खुला ठाउँमा अलपत्र परेका उनले जानकारी दिए । पुलापछैमा रहेको ऐतिहासिक कुवा माथिबाट खनिएको मोटरबाटोका कारण कुवा सुकेर खण्डहरमा परिणत भएको बानियाँले बताए ।

तत्कालीन समयमा पर्वते प्रतापि राजा डिम्वम मल्ल (दिलिपबम मल्ल पनि भनिन्थ्यो) ले ढोलठानलाई गृष्मकालीन राजधानी बनाएकाले यस ठाउँमा रहुञ्जेलसम्म यही कुवाको पानी र ओखलमा धान कुटेर दरबारका सदस्यले भात खाने गरेका प्रमाणहरू भेटिएका स्थानीय यामबहादुर बानियाँले जानकारी दिए । उनका अनुसार विसं १८४२ मा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीमा रहेको इतिहासमा उल्लेख छ ।

‘कहिले राजा बेनी बागलुङ, कहिले राजा ढोर’ भनेर गाइने यस क्षेत्रको लोकगीतको आधारमा पनि ढोलठान क्षेत्रको ऐतिहासिकतालाई पुष्टि गर्ने स्थानीय प्रकाश पौडेलले बताए । राजनीतिक, कुटनीतिक र सामरिक दर्शन तथा त्याग र बलिदानको इतिहासका साथसाथै पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्नु जरुरी रहेकामा उनले जोड दिए ।

१४औँ शताब्दीमा तत्कालीन पर्वत राज्यका एकीकरणकर्ता एवं राजा डिम्वम मल्लद्वारा स्थापित जगन्नाथ मन्दिर धार्मिक एवं पर्यटकीय दृष्टिकोणले समेत प्रसिद्ध रहेको पैडेलले जानकारी दिए । उनका अनुसार यो मन्दिर ढोलठानबाट माथि र डढेकोट दरबारबाट तल केबहिलको नजिकैमा रहेको उनले बताए ।

ढोलठान क्षेत्रको शिरमा रहेको केबहिलबाट मनोरम हिमशृङ्खलाको दृश्य नियाल्न पाइनु यस क्षेत्रको आकर्षण हो । यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बाग्लुङ, स्याङ्जा र कास्कीका ३० भन्दा बढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका साबिकका ३६ गाविस प्रत्यक्ष देख्न सकिने बेनी नगरपालिका–५ का वडाअध्यक्ष गोविन्द बानियाँले जानकारी दिए ।

यो क्षेत्र ऐतिहासिक रुपमा मात्रै होइन जैविक, धार्मिक र प्राकृतिक रुपमा पनि महत्वपूर्ण क्षेत्र रहेकाले यसको संरक्षणका लागि स्थानीय तह र प्रदेश सरकारबाट पहल भइरहेको उनले उल्लेख गरे ।