उपचारका क्रममा कोशी अस्पतालबाट फरार भएका कैदी पक्राउ



विराटनगर। उपचारका क्रममा कोशी अस्पताल विराटनरबाट फरार भएका एक कैदी आज पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका कैदी अस्पतालबाट यही साउन १७ गते फरार भएका थिए।

कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठका अनुसार विराटनगर उपमहानगरपालिका–८ निवासी २४ वर्षीय मोहम्मद अहमदलाई जबरजस्ती करणी मुद्दाको कसुरमा जिल्ला अदालत मोरङले २०७९ साल फागुन २९ गते १२ वर्ष कैद र रु पाँच लाख जरिवाना गरेको थियो।


फरार कैदीलाई खोजतलास गर्ने क्रममा आज मोरङको जहदा गाउँपालिका–१ तारेगामा स्थित नेपाल भारत सीमा नजिकबाट इलाका प्रहरी कार्यालय रानीबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको थियो। पक्राउ परेका कैदीमाथि थप अनुसन्धान भइरहेको प्रवक्त्ता श्रेष्ठले जानकारी दिए।