डेङ्गु सङ्क्रमणबाट विद्यार्थी बिरामी परेपछि दुई विद्यालय बन्द



दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित दुई निजी विद्यालयका विद्यार्थी डेङ्गु सङ्क्रमणले बिरामी हुन थालेपछि आजदेखि विद्यालय बन्द गरिएको छ ।

आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कूल र बालशिक्षा सदन बोर्डिङ स्कूलका केही विद्यार्थीमा डेङ्गु सङ्क्रमण देखिएपछि केही दिनका लागि विद्यालय बन्द गरिएको हो ।


विद्यार्थीमा ज्वरो आउने समस्यापछि परीक्षण गर्दा डेङ्गु सङ्क्रमण पुष्टि भएको र यस क्षेत्रमा केही दिन सङ्क्रमण फैलिइरहेकाले विद्यालय बन्द गराइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिए ।

उनले भने, ‘अन्य विद्यालयले विद्यार्थीको बिरामीको अवस्थाअनुसार बिरामी सङ्ख्या वृद्धि भएको खण्डमा विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । डेङ्गु रोगको रोकथाम र नियन्त्रण सम्बन्धमा पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन भनिएको छ ।’ कुँवरले डेङ्गु सङ्क्रमितको आँबुखैरेनी अस्पतालमा निःशुल्क उपचार भइरहेको उल्लेख गरे ।

आँबुखैरेनीमा हालसम्म तीन सय ५० भन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । डेङ्गु सङ्क्रमण बढेपछि जनचेतनामूलक कार्यलाई जोड दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।