भाडा समायोजन नगरिए ८ गतेदेखि भाडा बढाउने यातायात व्यवसायीकाे चेतावनी



काठमाडाैँ । यातायात व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् ।

विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोज भएको भाडा अहिले रु १३३ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो थियो । बजारका हरेक वस्तुको मूल्य आकासिँदै गएको समयमा वैज्ञानिक भाडा समाजोजन आजको आवश्यकता भएको उनीहरुको भनाइ थियो ।


आज पत्रकारसम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिकरुपले भाडादर समायोजन गर्नाका लागि सरकारसँग माग गरे । उनले ७ गतसम्म भाडा समायोजन नभए बाध्य भएर व्यवसायी आफैँले समायोजन गर्ने चेतावनी पनि दिएका हुन् ।

व्यवसायीका अनुसार हाल तय भएको वैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई आधार मान्दा सार्वजनिक बसको लागत नौ दशमलव०३, ट्रक (पहाड) को ११ दशमलव८२ र ट्रक (तराई)को १३ दशमलव१३ प्रतिशत लागत वृद्धि भएको छ । यस्तै पेट्रोलबाट सञ्चालित सवारी साधानको लागत आठ दशमलव पाँच प्रतिशत वृद्धि भएको पत्रकार सम्मेलनमा जनाइएको थियो ।

व्यवसायीले गण्डकीमा भाडा समायोजन गरिए पनि बागमती प्रदेशमा भने नगरिएको प्रति पनि ध्यानाकर्षण गराएका थिए । गएको असार २७ गते समायोजन भएको भाडादर पर्यटक बोक्ने सवारी साधनको हकमा समायोजन नभएकाले त्यसमा पनि वैज्ञानिक भाडादर समायोजन गर्न माग गरिएको थियो ।