स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्छ : मन्त्री पौडेल



डुम्रे (तनहुँ)।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस तनहुँद्वारा आज बिपी स्मृति भवन दमौलीमा आयोजित कार्यक्रममा उनले गुणस्तरीय सेवा प्रवाहका लागि अस्पतालमा चिकित्सक अभाव हुने अवस्था रहेकाले यसको व्यवस्थापनका लागि चिकित्सा शिक्षा अध्ययनलाई पनि ध्यान दिनुपर्नेमा जोड दिए।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र आमनागरिकको नैसर्गिक अधिकार भएकाले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै आमनागरिकको पहुँच स्थापित गर्न आवश्यक रहेको बताए। उनले भने, ‘गुणस्तरीय स्वस्थ्य सेवामा आमनागरिकको सहज पहुँच स्थापित गर्न अस्पतालका भौतिक संरचना बनाएर मात्रै हुँदैन भएका संरचनाको उपयोग गरी सहज सेवा प्रवाहको वातावरण तयार गर्ने प्रयासमा रहेका छौँ।’


आमनागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउन स्वास्थ्य बीमालाई व्यवस्थित गरिने उनको प्रतिबद्धता थियो। ‘स्वास्थ्य बीमालाई व्यवस्थित, बीमितको प्रिमियमलाई व्यवस्थित गर्न स्वास्थ्य बीमालाई बीमाको सिद्धान्तअनुसार अगाडि बढाउनुपर्नेछ। त्यसका लागि स्वास्थ्य बीमा क्षेत्रमा हाल देखिएका समस्या र गुनासा सम्बोधनमा जोड दिनेछौँ’, उनले भने।

केही वर्षपछि चिकित्सक नै अस्पतालमा अभाव हुने अवस्था देखिने चिन्ता व्यक्त गर्नुहुँदै मन्त्री पौडेलले चिकित्सा शिक्षा अध्ययनलाई सहज बनाउन आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले भन्नुभयो, ‘केही वर्षमा चिकित्सा शिक्षाका लागि विद्यार्थी नपाइने अवस्था आउन सक्छ। यसकारण दुई सय ५० शय्या क्षमताका अस्पतालमा चिकित्सा शिक्षा अध्ययन गराउने व्यवस्था हुनुपर्छ, यसले विदेशिने युवाको सङ्ख्यामा पनि कमी आउनसक्छ।’ तीन तहका सरकारको सहकार्य तथा समन्वयमा सबै अस्पतालको सेवा विकासमा लाग्नुपर्नेमा मन्त्री पौडेलको जोड थियो।

तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्याको बनाउन प्रस्ताव माग भएको उनले जानकारी गराए। यसैगरी, देश चुनौतीपूर्ण बिन्दुमा रहेकाले दोस्रो कांग्रेसले ठूलो पार्टीसँग सरकार गठनका लागि सहकार्य गरेको धारणा राख्दै मन्त्री पौडेलले राजनीतिक अस्थिरता र बेतिथिलाई रोक्ने गरी सरकारले काम गर्ने बताए।

कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले सशक्त युवाले स्वास्थ्य क्षेत्रको नेतृत्व पाएकाले आमनागरिकले स्वास्थ्य क्षेत्रमा सुधार तथा स्वास्थ्यको पहुँच सहज बन्ने अपेक्षा गरेको बताए। मन्त्री पौडेलले जिल्ला अस्पतालको निरीक्षण गरी सेवा प्रवाहका बारेमा जानकारी लिएका थिए।