साउनको तेस्रो सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो



काठमाडाैँ । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहान ४ बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरेर सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।


उनले भने, ‘पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ, आज त बोलबमवालाहरूको पनि ठूलो सङ्ख्यामा घुइँचो लागेको छ । मन्दिरका चारै ढोका खुला गरेर भक्तजनलाई सहज रूपमा दर्शन गर्ने व्यवस्था मिलाएका छौँ ।’

पशुपतिनाथ दर्शनका लागि आज बोलबम यात्रामा निस्केकाहरू दर्शनार्थी सहभागी रहेका प्रवक्ता अधिकारीले बताए । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन गरिएको विकास कोषले जनाएको छ ।

साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गरेको कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले बताए । ‘साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्दछ’, उनले भने, ‘बोलबम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने चलन छ ।’

यसैगरी आज काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।