कटारी नगरपालिकामा स्थानीय पाठ्यपुस्तक लागू



कटारी । उदयपुरको कटारी नगरपालिकाले स्थानीय पाठ्यपुस्तक लागू गरेको छ । स्थानीय पाठ्यक्रमअन्तर्गत ‘कटारी ज्ञानमाला’ प्रकाशन गरी कक्षा १ देखि ५ सम्म अनिवार्य पठनपाठनका लागि लागू गरेको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए । 

उनले दुई वर्ष लगाएर विज्ञहरूमार्फत पाठ्यक्रम बनाएको र चालु शैक्षिक सत्रदेखि नै सबै विद्यालयमा अनिवार्य रूपमा पठनपाठन गर्न थालिएको जानकारी दिए। 


आज नगरपालिकाअन्तर्गत रहेका सबै विद्यालयका प्रधानाध्यापकको भेला गरी नगरपालिकाले पाठ्यपुस्तक वितरण गरिएको छ । नगर उपप्रमुख गीता खड्काले नगरका धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्र, विभिन्न जातजातिको पहिचान, भूगोललाई समेटेर पाठ्यपुस्तक तयार गरिएको बताए । स्थानीय पाठ्यपुस्तकसँगै आगामी दिनमा प्राविधिक विषयमा जोड दिने नगरपालिकाको सोच रहेको उनको भनाइ छ । 

शिक्षा शाखाका अनुसार यस वर्ष कक्षा ५ सम्मका लागि तयार पारिएको पाठ्यक्रम क्रमशः कक्षा ८ सम्म लागू गरिने छ । सरकारको स्थानीय पाठ्यक्रमका आधारमा पाठ्यपुस्तक तयार पारिएको शाखाले बताएको छ ।

शिक्षा शाखाका स्रोतव्यक्ति सूर्य कार्कीले एमएस प्रणालीमा भएका विद्यार्थीको तथ्याङ्कअनुसार पाठ्यपुस्तक छापेर सम्बन्धित विद्यालयमा पठाइएको बताए ।