निःशुल्क यातायात सुविधाले विद्यार्थीलाई राहत



गलकोट। अपाङ्गता, असहाय र विपन्नका छोराछोरीलाई पठनपाठन गराउँदै आएको यहाँको रामरेखा आधारभूत विद्यालयले यातायात सेवा सुरू गरेपछि विद्यार्थीलाई सहज भएको छ।

बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयले एक सय ३९ विद्यार्थीमध्ये १२ जना अपाङ्गता विद्यार्थीले आवासीय सुविधासहित अध्ययन गर्दै आएका छन् तर अन्य विद्यार्थीले टाढाबाट आउनुपर्दा निकै समस्या भोग्नुपरेको थियो। यस्ता विद्यार्थीलाई निःशुल्क यातयात सेवा दिन थालिएको हो।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र केसीले बागलुङ र पर्वतको विभिन्न स्थानबाट विद्यार्थी ल्याउन भ्यान सेवा सुरू गरिएको जानकारी दिए।


केसीले धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र ९डिआइआरडिसी० को पहलमा विद्यालयको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि भ्यान सेवा दिन थालिएको बताए। भ्यान सुविधापछि बालबालिकालाई विद्यालय आउजाउ गर्न धेरै सहज भएको उनले बताए।“मालढुङ्गा, खनियाघाट र दमुवाखोलाका विद्यार्थीहरू भाडा तिरेर बसमा समेत आउ–जाउ गर्दै आएका थिए।

विद्यार्थीलाई सहजताका लागि भ्यानको व्यवस्था मिलाएका छौँ, भ्यान सञ्चालनका लागि अभिभावक र स्थानीय तहबीच सहकार्य गर्न बाँकी नै छ,” केसीले भने, “गत वर्ष एक सय १० जना विद्यार्थी भएको विद्यालयमा अहिले एक सय ३९ जना पुर्याउन सफल भएका छौँ, विद्यालयको शैक्षिक गतिविधि बढाउन थालेपछि विद्यार्थी बढेका छन्, खासगरी मजदुर र विपन्नका छोराछोरीलाई भ्यान सुविधाले राहत दिनेछ।”

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि काम गर्दै आएको डिआइआरडिसीले विद्यालयलाई भ्यान प्रदान गरेको अध्यक्ष केवी राना मगरले जानकारी दिए। करिब रु ५० लाख पर्ने भ्यानलाई राजस्व छुट गरेर रु २० लाख भित्र्याइएको उनले बताए। बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले अपाङ्गता भएका विद्यार्थी र अधिकांश मजदुरका छोराछोरी पढ्ने विद्यालयले यातयातको सेवा दिन थालेपछि बालमैत्री नगर घोषणामा थप सहयोग पुगेको बताए।